काठमाडौं । मुस्ताङको कोरला नाकाबाट नेपाल भित्रिएका वस्तु अब काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयबाटै जाँचपास गर्न सकिने भएको छ । भन्सार विभागले मुस्ताङ भन्सार कार्यालयमा पैठारीका लागि आएका वस्तु चोभार सुक्खा बन्दरगाहबाट जाँचपास गर्न पाउने गरी सडक मार्ग तोकेको हो ।
विभागको निर्णयसँगै कोरला नाकाबाट भित्रिएका मालसामान मुस्ताङमै जाँचपास नगरी तोकिएको आन्तरिक परिवहन सुविधाअन्तर्गत काठमाडौं ल्याएर चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट जाँचपास गर्न सकिने भएको छ । यो व्यवस्था अर्को निर्णय नभएसम्म लागू हुने विभागले जनाएको छ ।
भन्सार नियमावलीमा तोकिएका सर्त तथा प्रक्रिया पालना गरी आन्तरिक परिवहनको सुविधा प्रदान गर्ने निर्णय भएको विभागले जनाएको छ । त्यसका लागि मालबाहक सवारीसाधनले कोरला नाकाबाट प्रवेश गरी नेचुङ–छुसाङ–कागबेनी–जोमसोम–बेनी–कुश्मा–पोखरा–दमौली–मुग्लिन–कुरिनटार–नौबिसे–कलंकी हुँदै चोभारस्थित सुक्खा बन्दरगाह पुग्नुपर्नेछ ।
तोकिएको रुटमा कुनै समस्या आएमा वैकल्पिक मार्गसमेत प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । यस्तो अवस्थामा सवारीसाधन मुग्लिन–नारायणगढ–हेटौंडा–भैंसे–नौबिसे–कलंकी–चोभार हुँदै सुक्खा बन्दरगाह पुग्न सक्नेछन् ।
त्यसैगरी, गुडाएर लैजाने नयाँ सवारीसाधनका लागि तत्काल हेटौंडातर्फको रुट प्रयोग गर्ने गरी मार्ग तोकिएको विभागले जनाएको छ ।
रसुवागढी नाका प्रलयकारी बाढीका कारण प्रभावित भएपछि चीनसँगको व्यापारका लागि मुस्ताङस्थित कोरला नाका वैकल्पिक नाकाका रूपमा प्रयोग हुँदै आएको छ । कोरलाबाट हुने आयातलाई सहज बनाउन चोभार सुक्खा बन्दरगाहबाट जाँचपासको व्यवस्था गरिएको हो ।
यस व्यवस्थाले कोरला नाकाबाट आयात हुने वस्तुको भन्सार प्रक्रिया काठमाडौंमै पूरा गर्न सहज हुने अपेक्षा गरिएको छ । साथै, आयातकर्तालाई मुस्ताङमै जाँचपास गर्नुपर्ने बाध्यता हट्ने भएकाले व्यापारिक गतिविधि थप सहज हुने देखिएको छ ।






प्रतिक्रिया दिनुहोस्