काठमाडौं । भाटभटेनी सुपर मार्केटको धरानस्थित स्टोर पुनः सञ्चालनमा आउने भएको छ। धरानको पुतली लाइनमा रहेको भाट–भटेनी सुपर स्टोर आगामी भदौ २४ गते बुधबारदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउन लागेको हो।
भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार स्टोर पुनः सञ्चालनमा आएपछि दैनिक रूपमा नियमित सेवा प्रदान गरिनेछ।
ग्राहकको सुविधालाई मध्यनजर गर्दै स्टोरमा आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ। कम्पनीले ग्राहकको आवश्यकता र सुविधालाई प्राथमिकतामा राख्दै सेवा सञ्चालनलाई निरन्तरता दिने बताएको छ।
भाटभटेनीले धरानसहित विभिन्न स्थानमा आफ्ना स्टोरमार्फत खुद्रा व्यापार गर्दै आएको छ। धरानको स्टोर पुनः सञ्चालनमा आएसँगै स्थानीय ग्राहकलाई दैनिक उपभोग्य सामग्रीसहित विभिन्न वस्तु तथा सेवामा सहज पहुँच पुग्ने अपेक्षा गरिएको छ।
कम्पनीले स्टोर पुनः सञ्चालनमा सहयोग गर्ने ग्राहक, शुभेच्छुक तथा सरोकारवालाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर साथ र सहयोगको अपेक्षा गरेको छ।






प्रतिक्रिया दिनुहोस्