काठमाडौं । बर्खायामका कारण करिब तीन महिनादेखि रोकिएको पोखराको हट एयर बलुन उडान पुनः सञ्चालनमा आएको छ ।
पोखराको पामे क्षेत्रमा सञ्चालन हुँदै आएको हट एयर बलुन सेवा भदौ २० गतेदेखि पुनः सुरु भएको सञ्चालक कम्पनी बलुन नेपालले जनाएको छ।
कम्पनीका अध्यक्ष विक्रम बादेका अनुसार मौसममा सुधार आएसँगै पर्यटकको आकर्षणमा रहेको हट एयर बलुन उडान पुनः सञ्चालन गरिएको हो। यससँगै पोखरा भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकले आकाशबाट पोखरा उपत्यका, फेवाताल र हिमशृंखलाको दृश्यावलोकन गर्न सक्नेछन्।
हट एयर बलुनबाट करिब ६ हजार फिटसम्मको उचाइमा पुगेर माछापुच्छ्रे र अन्नपूर्ण हिमशृंखलासहित पोखराका प्रमुख पर्यटकीय क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ। उडानका क्रममा पूर्ण आकारमा देखिने फेवाताल, पुम्दीकोट महादेव, सराङकोट तथा पोखरा उपत्यकाको मनोरम दृश्यहरु अवलोकन गर्न सकिने कम्पनीले जनाएको छ।
पामेबाट सञ्चालन हुने बलुन उडानका लागि आन्तरिक पर्यटकलाई ११ हजार रुपैयाँ, सार्क मुलुक तथा चीनियाँ पर्यटकलाई १२० अमेरिकी डलर र अन्य विदेशी पर्यटकलाई १५० अमेरिकी डलर शुल्क निर्धारण गरिएको छ।
कम्पनीका अनुसार बलुन उडान सामान्यतः बिहान ५ बजेदेखि ९ बजेसम्म र दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुन्छ। मौसमको अवस्था र हावाको गतिअनुसार उडानको समय तथा सञ्चालनमा आवश्यक परिवर्तन गर्न सकिने जनाइएको छ।
बलुन नेपालले पर्यटकका लागि प्याकेज सेवासमेत उपलब्ध गराउँदै आएको छ। प्याकेजमा ब्रेकफास्ट, लेकसाइडदेखि पामेसम्मको दुईतर्फी यातायात सुविधा तथा उडानको प्रमाणपत्र समावेश गरिएको कम्पनीले जनाएको छ। त्यस्तै, समूह वा विशेष अवसरका लागि बलुन रिजर्भ गर्न सकिने सुविधासमेत उपलब्ध छ।
पोखरामा साहसिक पर्यटनका नयाँ गतिविधि थपिँदै जाँदा हट एयर बलुन पनि पर्यटकको आकर्षणको माध्यम बन्दै गएको छ। मौसमका कारण रोकिएको सेवा पुनः सुरु भएपछि आगामी पर्यटकीय सिजनमा बलुन उडानमा पर्यटकको सहभागिता बढ्ने अपेक्षा व्यवसायीहरूले गरेका छन्।









प्रतिक्रिया दिनुहोस्