काठमाडौं । बिराट एग्री लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनका लागि कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
यससम्बन्धी सम्झौता एनआईसी एशिया क्यापिटल र बिराट एग्री लिमिटेडबीच सम्पन्न भएको हो । सम्झौताअनुसार एनआईसी एशिया क्यापिटलले कम्पनीलाई प्रचलित कानूनबमोजिम सर्वसाधारणमा प्राथमिक शेयर निष्कासनका लागि आवश्यक संस्थागत परामर्श तथा अन्य सेवा उपलब्ध गराउनेछ ।
इटहरी–१३, सुनसरीमा कार्यालय रहेको बिराट एग्री कृषि तथा एक्वाकल्चर क्षेत्रलाई व्यावसायिक, आधुनिक तथा दिगो ढाँचामा विकास गर्ने उद्देश्यसहित स्थापना भएको कम्पनी हो । कम्पनीले मोरङ र सुनसरी जिल्लामा १०० हेक्टरभन्दा बढी जलाशय क्षेत्रफलमा करिब १५० वटा पोखरीमार्फत व्यावसायिक एकीकृत कृषि तथा मत्स्यपालन गर्दै आएको जनाएको छ ।
कम्पनीले इटहरी–१३ स्थित खनार औद्योगिक क्षेत्रमा दैनिक २५ टन उत्पादन क्षमता भएको आधुनिक फिस फिड प्लान्ट सञ्चालन गर्दै आएको छ । उक्त प्लान्टबाट विभिन्न प्रकारका तैरिने तथा डुब्ने माछाका दाना उत्पादन तथा बिक्री–वितरण हुँदै आएको कम्पनीले जनाएको छ ।
कम्पनीले प्रस्तावित आईपीओबाट प्राप्त पूँजीलाई उत्पादन क्षमता विस्तार, आधुनिक प्रशोधन प्रविधि तथा व्यावसायिक पूर्वाधार विकासमा परिचालन गर्ने योजना बनाएको छ । कृषि तथा मत्स्यपालन क्षेत्रको उत्पादनदेखि प्रशोधन, प्याकेजिङ तथा बजारीकरणसम्मको मूल्य शृङ्खलालाई एकीकृत गर्ने कम्पनीको दीर्घकालीन योजना रहेको छ ।
बिराट एग्रीले पाङ्गास माछाको फिलेटिङ तथा फिस प्रोसेसिङ प्लान्ट स्थापना गर्ने तयारी गरेको छ । आधुनिक प्रविधिबाट पाङ्गास माछा प्रशोधन गरी फिलेट तथा अन्य मूल्य अभिवृद्धि भएका माछाजन्य उत्पादन तयार गर्ने, प्याकेजिङ तथा बजारीकरण गर्ने योजना कम्पनीको छ ।
त्यसैगरी, माछा तथा पशुपन्छीका लागि आवश्यक पोषणयुक्त दाना उत्पादन गर्न दैनिक १० टन क्षमताको आधुनिक फिड प्लान्ट स्थापना गर्ने लक्ष्य पनि कम्पनीले लिएको छ ।
कम्पनीले ‘फार्म टु मार्केट’ अवधारणाअन्तर्गत आफ्नै फार्ममा माछा उत्पादन, माछाको दाना उत्पादन, आधुनिक प्रशोधन तथा फिलेटिङ, कोल्ड स्टोरेज, प्याकेजिङ र बजार व्यवस्थापनलाई एउटै एकीकृत व्यावसायिक चक्रमा विकास गर्ने योजना अघि बढाएको जनाएको छ।
यी पूर्वाधारको विकाससँगै उत्पादनदेखि प्रशोधन, प्याकेजिङ र बजारीकरणसम्मको सम्पूर्ण प्रक्रियालाई एकीकृत प्रणालीमा जोड्ने कम्पनीको लक्ष्य छ। कम्पनीका अनुसार विस्तार योजनाले कृषि तथा एक्वाकल्चर क्षेत्रमा मूल्य अभिवृद्धि, आधुनिक प्रविधिको प्रयोग, रोजगारी सिर्जना तथा आयात प्रतिस्थापनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
यसैबीच, एनआईसी एशिया क्यापिटलले ‘कम्पनी टु आईपीओ’ सेवा अन्तर्गत कम्पनीलाई प्राइभेट लिमिटेडबाट पब्लिक कम्पनीमा परिणत गर्नेदेखि साधारण शेयर निष्कासनसम्म आवश्यक परामर्श सेवा प्रदान गर्दै आएको जनाएको छ।









प्रतिक्रिया दिनुहोस्