काठमाडौं । गृहमन्त्री गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा कार्यरत पदाधिकारी तथा कर्मचारीले आफ्नो पदीय हैसियतको दुरुपयोग गर्दै गोप्य तथा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने कार्य गरे कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका छन् ।
उनले राज्यका संवेदनशील सूचना कुनै व्यक्ति विशेषको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारीसँग जोडिएको विषय भएको बताएका छन् । पदका कारण सूचनामा पहुँच प्राप्त हुने भए पनि त्यसको दुरुपयोग गर्ने अधिकार कसैलाई नभएको उनको भनाइ छ ।
गृहमन्त्री गुरुङका अनुसार सुरक्षा तथा अनुसन्धानसँग सम्बन्धित सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीसमेत अपराध नियन्त्रण, अनुसन्धान अघि बढाउन तथा भविष्यमा हुन सक्ने गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न महत्वपूर्ण हुन सक्छ ।
राज्यले सुम्पिएको गोपनीयताको जिम्मेवारी उल्लङ्घन गर्दै जानाजान सूचना चुहाउने कार्यलाई गम्भीर रूपमा लिइने उनले बताएका छन् ।
देश र संगठनप्रति विश्वासघात हुने गरी राज्यका गोप्य तथा संवेदनशील सूचना चुहाउने जोसुकै भए पनि उन्मुक्ति नपाउने गृहमन्त्री गुरुङले स्पष्ट पारेका छन् । त्यस्ता कार्यमा संलग्न पदाधिकारी वा कर्मचारीलाई प्रचलित कानूनबमोजिम कारबाही गरी कानूनी कठघरामा ल्याइने उनले बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्