काठमाडौं । नेपाली साइबर सुरक्षा कम्पनी इन्साइट टेक्नोलोजी प्रालि अन्तर्राष्ट्रिय पुरस्कार ‘कृत्रिम बुद्धिमत्तामा आधारित साइबर सुरक्षा’ विधामा सम्मानित भएको छ। इन्डोनेसियाको जकार्तामा आयोजित एसोसियो डिजिटल कृत्रिम बुद्धिमत्ता पुरस्कार २०२६ मा सूचना प्रविधि तथा साइबर सुरक्षाको क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप कम्पनीलाई उक्त पुरस्कार प्रदान गरिएको हो।
एसोसियो एसिया तथा ओसिनियाका २५ भन्दा बढी देशका राष्ट्रिय प्रविधि सङ्घसंस्थाहरू आबद्ध रहेको क्षेत्रीय सूचना तथा सञ्चार प्रविधि उद्योगसम्बन्धी संस्था हो। सन् १९८४ मा स्थापना भएको यस संस्थाले डिजिटल अर्थतन्त्रको विकास, क्षेत्रीय प्रविधि सहकार्य तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्दै आएको छ। विभिन्न संवेदनशील क्षेत्रका संस्थाहरूको साइबर सुरक्षा परीक्षण, जोखिमको प्रतिकार, निरन्तर निगरानी तथा सुरक्षा प्रणाली सुदृढीकरणमा कृत्रिम बुद्धिमत्ताको प्रभावकारी प्रयोग गरेबापत इन्साइट टेक्नोलोजीलाई उक्त सम्मान प्रदान गरिएको हो।
सन् २०२६ अक्टोबर ७ मा जकार्तास्थित स्विसोटेल जकार्ता पीआईके एभिन्युमा आयोजित पुरस्कार विजेता प्रस्तुति कार्यक्रममा इन्साइट टेक्नोलोजीका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सुमन के. शर्माले कम्पनीको यात्रा, उपलब्धि तथा साइबर सुरक्षा सम्बन्धी दृष्टिकोण प्रस्तुत गर्नुभएको थियो। उनले एसोसियोको सञ्चालक समिति, पुरस्कार विजेताहरू तथा एसिया–ओसिनिया क्षेत्रका प्रविधि विज्ञहरूसमक्ष कम्पनीका अनुभव र उपलब्धिबारे जानकारी गराए ।
सन् २०११ मा सूचना प्रविधि समाधान एकीकृत गर्ने कम्पनीका रूपमा स्थापना भएको इन्साइट टेक्नोलोजी हाल सयौँ संस्थालाई सेवा प्रदान गर्ने साइबर सुरक्षा तथा व्यवस्थित प्रविधि सेवा प्रदायकका रूपमा विकसित भएको छ।
इन्साइट टेक्नोलोजीका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सुमन के. शर्माले भने, “यो पुरस्कार हाम्रा इन्जिनियर, विश्लेषक तथा नेपाली कम्पनीका अत्यन्त संवेदनशील प्रणालीहरूको सुरक्षाका लागि हामीमाथि विश्वास गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय ग्राहकहरूको हो। प्रत्येक संस्थाका लागि उन्नत साइबर सुरक्षा सेवा पहुँचयोग्य बनाउने उद्देश्यले हामीले इन्साइट टेक्नोलोजीको स्थापना गरेका हौँ। क्षेत्रीय मञ्चमा नेपालको प्रतिनिधित्व गर्न र नेपाली प्रविधि कम्पनीहरूले विश्वव्यापी साइबर सुरक्षा प्रणालीमा पुर्याउन सक्ने योगदान प्रस्तुत गर्न पाउँदा हामी गौरवान्वित छौँ।”
इन्साइट टेक्नोलोजी प्रालि साइबर सुरक्षा सेवा प्रदायक कम्पनी हो। कम्पनीले विगत १५ वर्षदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी सेवा प्रदान गर्दै आएको छ।









प्रतिक्रिया दिनुहोस्