Skip to content

सरकारले करका दर घटाउँदा राज्यलाई नोक्सान: लगानीकर्तामा देखिएन उत्साह, घट्यो पुँजीगत लाभकर

nabil
global ime

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन भए देखिनै सेयर लगानीकर्ता निकै उत्साहित थिए ।

अघिल्लो भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि फागुन २१ गते भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले करिब दुई तिहाई मत पाएपछि शाहको नेतृत्वमा सरकार बनेपछि पुँजी बजारमा उछाल आउने सबैको अपेक्षा थियो ।

लामो समयदेखि लाभकर लगायतका विषयमा अन्यौलमा रहेका लगानीकर्ता करिब २ तिहाइ मत पाएको सरकार पाएपछि उत्साहित थिए । साथै रास्वापले निर्वाचनको समयमा ल्याएको वाचापत्रमा उल्लेख भएका व्यवस्थाले पनि लगानीकर्ता उत्साहित बनेका थिए ।

बजारमा नीतिगत स्थिरता कायम हुने, पुँजी बजारले गति लिने र लगानीकर्ताको विश्वास बढ्ने अपेक्षा गरिएको थियो । तर, सरकार गठन भएको सात महिना बितिसक्दा पनि सेयर बजारमा अपेक्षित सुधार देखिएको छैन ।

सरकारले सेयर बजार बढाउन हर प्रयास गरिरहेको छ ।

सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा पनि पुँजी बजार सुधारका  लागि भन्दै विभिन्न नीतिगत व्यवस्था गरेको छ । सरकारले बजेटबाट नै पुँजीगत लाभकरमा देखिएको अन्यौलता अन्त्य गरेको छ ।

बजेटले दीर्घकालीन लगानीकर्ताले सेयर बिक्रीबाट भएको नाफामा ७.५ प्रतिशत र अल्पकालीन लगानीकर्ताले १० प्रतिशत पुँजीगत लाभकर तिर्नु पर्ने व्यवस्था गर्यो । त्यो नै अन्तिम लाभकर हुने अर्थमन्त्री डा स्वर्णिम वाग्लेले दाबी गरेका थिए । पछि सरकारले लाभकरमा भारी कटौती गर्यो ।

भदौ ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको प्रस्तावअनुसार पुँजीगत लाभकरको नयाँ दर कायम गर्ने निर्णय गर्यो ।

असोज ५ गते सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै ३६५ दिनभन्दा बढी अवधि सेयर होल्ड गरेर बिक्री गर्ने लगानीकर्ताले ३.७५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधि सेयर होल्ड गरेर बिक्री गर्ने लगानीकर्ताले ५ प्रतिशत लाभकर तिर्नुपर्न व्यवस्था गर्यो ।

लाभकरमा भारी कटौती गरेपछि बजारमा रातारात उछाल आउला भन्ने सरकारको सोचाइ थियो । तर बजारले सरकारलाई विश्वास गर्न सकेको छैन । बजारले सरकारलाई विश्वास गर्न नसकेको विभिन्न तथ्याङ्कले पुष्टी गरेको छ ।

सरकारले सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकरको दर घटाए पनि त्यसअनुसार बजारमा उत्साह बढ्न सकेको छैन । चालु आर्थिक वर्षको ३ महिनामा सेयर कारोबारबाट सरकारले प्राप्त गर्ने पुँजीगत लाभकर गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा घटेको छ ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म १ अर्ब ७५ करोड ६४ लाख १० हजार ७६७ रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्म ३ अर्ब २७ लाख २५ हजार ४४६ रुपैयाँ यस्तो कर संकलन भएको थियो ।

चालु आर्थिक वर्षको साउनमा ६२ करोड ४९ लाख ६५ हजार ३१५ रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो । यस्तै भदौमा ६३ करोड २७ लाख ४६ हजार ५३० रुपैयाँ लाभकर संकलन भएको थियो । यता असोजमा भने पुँजीगत लाभकर घटेर ४९ करोड ८६ लाख ९८ हजार ९२१ रुपैयाँमा सीमित भएको छ । भदौको तुलनामा असोजमा पुँजीगत कर १३ करोड ४० लाख रुपैयाँभन्दा बढीले घटेको हो ।

साउनमा व्यक्तिगत दीर्घकालीन पुँजीगत लाभकर १९ करोड ३५ लाख ८५ हजार ४ रुपैयाँ रहेकोमा भदौमा बढेर २० करोड ७४ लाख २७ हजार ३३४ रुपैयाँ पुगेको थियो । असोजमा भने यो रकम थप वृद्धि भई २१ करोड ५७ लाख १४ हजार ६२२ रुपैयाँ पुगेको छ ।
त्यसैगरी, व्यक्तिगत अल्पकालीन पुँजीगत लाभकर साउनमा ७ करोड ४२ लाख ७४ हजार ७३३ रुपैयाँ रहेको थियो । भदौमा उल्लेख्य वृद्धि हुँदै यो रकम १८ करोड ७९ लाख ७२ हजार ५६१ रुपैयाँ १४ पैसा पुगेको थियो । तर,  असोजमा यस्तो रकम घटेर १० करोड ५६ लाख १८ हजार ९१९ रुपैयाँ सीमित भएको छ ।
संस्थागत पुँजीगत लाभकरतर्फ भने तीन महिनामा निरन्तर गिरावट देखिएको छ । साउनमा ३५ करोड ७१ लाख ५ हजार ५७७ रुपैयाँ रहेको संस्थागत पुँजीगत लाभकर भदौमा घटेर २३ करोड ७३ लाख ४६ हजार ६३४ रुपैयाँ पुगेको छ । असोजमा थप घट्दै यो रकम १७ करोड ७३ लाख ६५ हजार ३७९ रुपैयाँमा सीमित भएको छ ।

सरकारले सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकरको दर घटाएर लगानीकर्तालाई प्रोत्साहन गर्ने नीति लिए पनि त्यसअनुसार बजारमा उत्साह बढ्न नसकेको जानकारहरू बताउँछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima