काठमाडौं । नेपाल धितोपत्र बोर्डले अन्तरदिवसीय धितोपत्र कारोबार (इन्ट्राडे ट्रेडिङ) सञ्चालनका लागि तयार पारेको नियमावलीको प्रारम्भिक मस्यौदामाथि राय तथा सुझाव माग गरेको छ।
नेपालको पुँजी बजारमा कारोबारको गति, तरलता तथा मूल्य निर्धारण प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यले बोर्डले ‘अन्तरदिवसीय धितोपत्र कारोबार सम्बन्धी नियमावली, २०८३’ को प्रारम्भिक मस्यौदा तयार गरेको हो।
बोर्डले २०८३ असोज ८ गते सार्वजनिक गरेको ‘नेपालमा धितोपत्रको अन्तरदिवसीय कारोबार कार्यान्वयन सम्बन्धी अवधारणापत्र, २०८३’ का आधारमा नियमावलीको मस्यौदा तयार पारेको जनाएको छ।
प्रस्तावित मस्यौदाअनुसार अन्तरदिवसीय कारोबार सञ्चालन गर्न स्टक एक्सचेञ्ज तथा धितोपत्र दलाल व्यवसायीले बोर्डबाट स्वीकृति लिनुपर्नेछ। साथै, तोकिएका मापदण्ड पूरा गरेका सूचीकृत धितोपत्रलाई मात्र यस्तो कारोबारका लागि योग्य मानिने व्यवस्था प्रस्ताव गरिएको छ।
नियमावलीको मस्यौदामा धितोपत्र दलाल व्यवसायीले ग्राहकको पहिचान, वित्तीय क्षमता, जोखिम वहन गर्ने क्षमता तथा उपयुक्तताको मूल्याङ्कन गरेर मात्र अन्तरदिवसीय कारोबारको सुविधा उपलब्ध गराउनुपर्ने उल्लेख छ। कारोबार सञ्चालन गर्नुअघि ग्राहकको आदेश, मार्जिन, जोखिम सीमा तथा अन्य आवश्यक सर्तसमेत परीक्षण गर्नुपर्ने प्रस्ताव गरिएको छ।
त्यस्तै, अन्तरदिवसीय कारोबारका लागि आवश्यक प्राविधिक प्रणाली, सुरक्षा व्यवस्था तथा वास्तविक समयमै जोखिम नियन्त्रण गर्न सक्ने प्रणाली कायम गर्नुपर्ने व्यवस्था मस्यौदामा समेटिएको छ।
प्रस्तावित व्यवस्थाअनुसार लगानीकर्ताले अन्तरदिवसीय कारोबारअन्तर्गत कुनै धितोपत्र खरिद वा बिक्री गरी सिर्जना भएको खुला अवस्था ९ओपन पोजिसन० सोही दिनभित्र बन्द ९स्क्वायर अफ० गर्नुपर्नेछ। तोकिएको समयभित्र खुला अवस्था बन्द नगरेमा स्वतः बन्द ९अटो स्क्वायर अफ० हुने व्यवस्था पनि प्रस्ताव गरिएको छ।
अन्तरदिवसीय कारोबार गर्ने प्रत्येक ग्राहकले तोकिएबमोजिमको मार्जिन कायम गर्नुपर्नेछ। बजारको उतारचढावका आधारमा थप मार्जिन अर्थात् भेरिएसन मार्जिनसमेत निर्धारण गर्न सकिने व्यवस्था मस्यौदामा छ।
यसैगरी, प्रत्येक ग्राहक, धितोपत्र व्यवसायी, धितोपत्र तथा समग्र बजारका लागि अधिकतम कारोबार सीमा ९एक्सपोजर० निर्धारण गरिने प्रस्ताव गरिएको छ। धितोपत्र दलाल व्यवसायीले जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण तथा गुनासो व्यवस्थापन प्रणालीको व्यवस्था गर्नुपर्नेछ।
बोर्ड, धितोपत्र बजार तथा धितोपत्र दलाल व्यवसायीले अन्तरदिवसीय कारोबारसम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था पनि मस्यौदामा समेटिएको छ।
बोर्डले अन्तरदिवसीय धितोपत्र कारोबारलाई आवश्यकताअनुसार चरणबद्ध रूपमा कार्यान्वयन गर्न सक्ने प्रस्तावसमेत गरेको छ।









प्रतिक्रिया दिनुहोस्