काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ को उद्घाटनको अवसर पारेर आजै राष्ट्रिय सभागृहबाट ‘रिचार्ज काठमाडौंँ अभियान’को थालनी गरेको छ । कार्यवाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठ, वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा र काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले संयुक्तरुपमा ‘रिचार्ज काठमाडौंँ अभियान’को थालनी गरेका हुन् ।
अभियानको संयुक्त उद्घाटन गर्दै कार्यबाहक प्रधानमन्त्री श्रेष्ठ र मुख्यमन्त्री थापाले स्थानीय तहको पहलबाट भएको यो प्रयास प्रशंसनीय भएको भन्दै संघीय र प्रदेश सरकारको पनि सकारात्मक सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।
कार्यवाहक मेयर डंगोलले अब पनि गरौँला–हेरौँला भनेर बस्ने समय नभएको भन्दै कार्यमै जानुपर्छ भनेर ‘कार्य सप्ताह’ भनेको भन्दै काठमाडौंँ महानगरपालिका भरिका विद्यालयहरूमा कहाँ–कहाँ रिचार्ज गर्न सकिन्छ भनेर अनुसन्धान गरिसकेका कारण त्यहिअनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
उनले कार्यक्रम उद्घाटनमा सम्वोधन गर्दै काठमाडौं महानगरपालिकाको कार्यवाहक मेयरको हैसियतमा होइन साझा पृथ्वीको एक नागरिकको हैसियतमा यो अभियानलाई कार्यमै अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
उनले जलवायु परिवर्तनको असरबाट उत्पन्न विपद् र त्यसबाट भएको क्षतिमा महानगरपालिकाले विगतका दिनमा सक्दो सहयोग गरेको स्मरण गर्दै सबैले मिलेर क्षति न्युनिकरणका प्रयासहरू थाल्नुको विकल्प नभएको उल्लेख गरेका छन् ।
आजै भोटेकोशी बाढी प्रभावित जिल्ला नुवाकोटको विदुर नगरपालिका प्रमुखसँगै हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष , उपत्यका नागार्जुन, भक्तपुर, बुढानीलकण्ठ र चन्द्रागिरीका प्रमुख र तराईको बारा जिल्ला निजगढ नगरपालिकाका प्रमुखलाई एकै ठाउँ राखेर त्यहाँका वासिन्दाले भोग्नु परेको जलवायुको असरलगायतका विषयका अनुभव साझा गरेको छ । ‘कार्य सप्ताह’ एक हप्तासम्म सञ्चालन गर्ने महानगरपालिकाले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्