काठमाडौं । बाढीपीडितका लागि भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले १ करोड ११ लाख ११ हजार १ सय ११ सहयोगको घोषणा गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत सो सहयोग बाढीपीडितको उद्धार र राहतका लागि प्रदान गर्न लागेको जनाएका छन् ।
उनले पछिल्लो अविरल वर्षामा हजारौं नागरिक विस्थापित हुने अवस्था आएको भन्दै सरकारी राहत कोषमा सहयोग जम्मा गर्न लागेको बताए ।
भाटभटेनीका सीओओ पानु पौडेलले घोषणा गरिएको रकम सरकारलाई हस्तान्तरण गरिने बताए । बिहीबारदेखि परेको अविरल वर्षापछि देशभर १ सय ९३ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ भने अझै पनि ३५ जना बढी बेपत्ता छन् ।
गुरुङले यसअघि डा. भगवान कोइरालाको नेतृत्वमा रहेको बाल अस्पताल निर्माणका लागि ४१ करोड रुपैयाँ बराबरको सहयोग गरेका छन् । उक्त अस्पताल अहिले निर्माणाधीन अवस्थामा छ ।
अघिल्लो वर्ष जाजरकोटमा गएको भूकम्पपछि उनीहरुको उद्धार र राहतका लागि गुरुङले एक करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका थिए । त्यसबाहेक ८० लाख रुपैयाँबराबरको खाद्यान्न उक्त क्षेत्रमा पठाएका थिए ।
प्रतिक्रिया दिनुहोस्