Skip to content
Prabhu

मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँ

nabil

दैलेख । दैलेख जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका–५ कासिकाँधको गडीगाउँ पुग्दा जोकोहीको चित्त दुख्छ । यो गाउँमा पुराना बस्ती देखिए पनि मानिसको चहलपहल भने शून्यप्रायः छ । फाट्टफुट्ट भेटिने ज्येष्ठ नागरिक पनि भारी मनले भनछन् ‘बस्ती सबै रित्तो भो, जताततै वनमाराले राज गरेको छ ।’

दश वर्षअघि गाउँमा गाडीको प्रतीक्षा गरेर बसेकामध्ये अहिले औँलामा गन्न सकिने मानिस भेट्न कठिन छ । गाउँबाट उत्पादित जैविक उपज सवारीसाधनमा राखेर सहर पठाउने सपना साकार नहँुँदै सोही सडकमा गुडेका सवारीसाधान चढेर गाउँका युवा सहर पसेपछि अहिले त्यहाँ मलामी पनि नभेटिने अवस्था छ । भौतिक विकासमा अग्रसर देखिने सरकार ग्रामीण बस्तीबाट हुने बसाइँसराइ रोक्नेतर्फ नलागेको उनीहरुको गुनासो छ । गडीगाउँमा रहेका रिजाल, आचार्य, खत्री, राउत र बाझखर्क टोल सुनसान छन् ।

विस २०७८ को राष्ट्रिय जनगणनाअनुसार त्यहाँका ३८ घरमा ३६६ जनाको बसोबास थियो हाल १७ घरमात्र छन् । गाउँको जनसंख्या १२० मा झरेको छ । ‘पहिले बस्तीमा चहलपहल थियो, चाडबाडमा युवादेखि केटाकेटीसम्म सबै जम्मा हुने गर्दथे, उत्पादन पनि राम्रै थियो, अहिले मानिस सुविधायुक्त स्थानमा जान थाले गाउँका बस्ती बाँझो जमिनमा परिणत भयो । बस्ती सबै रित्तो भो, रित्तो बस्तीमा अहिले वनमाराले राज गरेको छ’, गाउँका अगुवा धनबहादुर थापा भन्छन् ।

यस्तै गुनासो गर्छन रावत टोलका ७० वर्षीया दानबहादुर रावत । सत्तरी वर्षमा सहजै हिँडडुल गरी काम गर्न सक्ने उनलाई छिमेकीका घरको आँगन पनि अहिले परदेशजस्तो लाग्न थालेको छ । ‘निकै अप्ठ्यारो महसुस भएको छ, दिनभरि घरमा एक्लै बस्छु, दिन काट्न मुस्किल छ, दुःखसुखका कुरा गर्ने न दौँतरी छन् न छिमेक नै,’ उनले भने ।

दानबहादुरको दुःखभन्दा कम छैन महाबु गाउँपालिका–५ काशीकाँधका ६९ वर्षीय दानेश्वर खत्रीको पनि । ‘सुविधा खोज्दै युवा सहर गए, गाउँमा रोजगारी भएन, युवा सहर पसेपछि परिवार पनि उतै लगे, अनि गाउँमा को आएर बस्छ । दसैँको मुखमा घरमा पालेका खसीबाख्रासमेत चितुवा आएर मारिदियो, मकै लगायो बाँदर र बँदेलले सखाप पार्छ, वनमाराको झाडी भयो वनबाट खानेकुरा खोज्दै अलिअलि दुःख गरेर गाउँमै बसेका किसानलाई समेत छाड्नुपर्ने बाध्यता छ । उब्जनी हुने बाली भित्र्याउन नपाएपछि गाउँमा के खाएर बाँच्ने ?’, उनले प्रश्न गरे ।

सहरी क्षेत्रमा बसाइँ सर्ने क्रम बढेसँगै गाउँ रित्तिएको महावु गाउँपालिका–५ का वडाध्यक्ष दीपबहादुर शाहीले बताए । बसाइँसराइ रोक्न पालिकाले कृषिमा लगानी बढाउँदै गएको उनको भनाइ छ । कृषिमा आधुनिकीकरण आवश्यक भएकाले स्थानीय सरकार किसानसँगको सहलगानीमा काम गर्न तयार भए पनि निकै कममात्र व्यावसायिक खेतीमा लागेका छन् ।

परम्परागत उत्पादनलाई जङ्गली जनावरले नष्ट गर्न थाले पनि कृषि उत्पादनलाई बढावा दिन गाउँपालिकाले मकै, अलैँची र आलु पकेट क्षेत्र र पशुपालन पकेट क्षेत्र छनोट गरेको र सोहीअनुसार काम सुरु गरेको अध्यक्ष शाहीको भनाइ छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal