काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकिय सुविधा दिएको कारण वाणिज्य बैंकहरुको नाफामा सुधार देखिएको छ ।
बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको नाफामा सुधार देखिएको हो । पहिलो त्रैमासमा २० वटा वाणिज्य बैंकको नाफा करिब २२ प्रतिशतले बढेको छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा वाणिज्य बैंकको नाफा १३ अर्ब ३४ करोड थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकको नाफा १६ अर्ब २३ करोड छ ।
पहिलो त्रैमासमा १ अर्बभन्दा बढी नाफा ८ वटा बैंकले गरेका छन् । नबिल,ग्लोबल आइएमई,नेपाल इन्भेष्टमेन्ट बैंक,प्राइम,एनएमबि,एभरेष्ट,कुमारी र प्रभु बैंकको नाफा १ अर्ब भन्दा बढी छ ।
सबैभन्दा बढी नाफा सुधार गर्नेमा कृषि विकास बैंक रहेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा नोक्सानीमा रहेको कृषि विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १९ करोड नाफा गरेको छ ।
नाफा घट्नेमा सबैभन्दा अगाडि एनआईसी एशिया बैंक छ । एनआईसी एशिया बैंकको गतवर्ष १ अर्ब १ करोड रहेको नाफा यो वर्ष घटेर ११ करोडमा आएको छ ।
प्रतिक्रिया दिनुहोस्