Skip to content
Prabhu

मुलुकले दिएको जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राख्ने छैनः राष्ट्रपति

nabil

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निष्ठा, आदर्श र नैतिकतालाई जोगाउँदै लोकतन्त्र र संविधानको संरक्षण गर्न मुलुकले दिएको जिम्मेवारी पूरा गर्न लागिरहने बताएका छन् ।

राष्ट्रपतिभवन शीतल निवासमा आत्रेय गोत्रीय पौडेल कुल पूजा व्यवस्थापना समितिले आज गरेको अभिनन्दन कार्यक्रममा उनले आफूले पदभन्दा निष्ठा, आदर्श र नैतिकतालाई सधैं ठूलो मानेकाले राजनीतिक जीवनमा प्रश्न उठ्ने कुनै पनि काम नगरेको स्पष्ट पारे । राष्ट्रपति पौडेलले भने, ‘मलाई पदभन्दा पनि ठूलो निष्ठा आदर्श र नैतिकता लाग्छ । लामो राजनीतिक जीवनकालमा कुलको इज्जत जोगाएर राखेको छु । खोट लगाउने कुनै काम गरेको छैन र गर्ने पनि छैन ।’

उहाँले लोकतन्त्र र संविधानको संरक्षण तथा राष्ट्रिय एकताको प्रवर्द्धन र राष्ट्रहितमा सधैँ काम गरिरहने प्रतिबद्धता व्यक्त गरे । ‘मलाई मुलुकले दिएको अभिभावकीय जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राख्नेछैन। जीवनभर निष्ठा, आदर्श र नैतिकता जोगाएर कुलको मात्र नभई नेपालीकै इज्जत राख्नेछु’, राष्ट्रपति पौडेलको भनाइ थियो ।

राष्ट्रपति पौडेललाई कुल वंशीय जेष्ठ सदस्य पुन्यप्रसाद पौडेलले अभिनन्दन पत्र अर्पण गरेका थिए। समारोहमा संयोजक साहित्यकार मुकुन्द पौडेलले कुलवंशको परम्पराबारे प्रकाश पार्दै आमन्त्रित सबैमा स्वागत गर्नुभएको थियो । कवि तथा कलाकार रमेश पौडेलले राष्ट्रपति पौडेलले आस्था र निष्ठाको आदर्शमार्गबाटै कुलदीपकको ज्योति छरेको बताए ।

अभिनन्दन तथा सम्मान समारोहमा तनहुँ, चितवन र काठमाडौँका आत्रेय गोत्रीयलगाय क्षेत्र बन्धुहरूको सहभागिता रहेको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal