काठमाडौं । बाढीपहिरोका कारण तिब्बतको खासामा रोकिएका मालवाहक कन्टेनर मंगलबार बिहानबाट नेपालको रसुवागढी नाका भित्रिन थालेका छन् । बाढीपहिरोले रसुवा नाकाको केरुङतर्फको २४ किलोमिटर सडक क्षतिग्रस्त भएपछि रोकिएका कन्टेनर आजदेखि रसुवा छिर्न थालेका हुन् ।
दसैं, तिहार र छठका लागि झिकाइएका व्यापारिक मालवस्तु बाढीपहिरोका कारण १ महिनादेखि खासामा रोकिएका हुन् । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बिहानबाट कन्टेनर तथा साना गाडी नेपाल भित्रन थालेको जानकारी दिए । चिनियाँ अधिकारीहरुले सामानसहित १३ टन तौल भएका मालवाहक गाडी मात्र एकतर्फी आउजाउ गर्नसक्ने सूचना हिजो नेपाललाई पठाएका थिए ।
चिनियाँ अधिकारीहरुले दिएको सूचना उद्दृत गर्दै प्रजिअ पौडेलले कन्टेनरहरु बिहान केरुङबाट नेपाल आउने र बेलुकी नेपालबाट सामान बोक्ने खाली कन्टेनर केरुङ जाने तालिका मिलाइएको छ । आज बिहान केरुङबाट सामान लोड गरेका कन्टेनर तथा साना गाडी कम्तीमा ५० वटा भित्रने सूचना प्राप्त भएको रसुवा भन्सार अधिकृत तथा सूचना अधिकारी रवीन्द्र प्याकुरेलले जानकारी दिए ।
केरुङको गोदाममा राखेका र कन्टेनरमा लोड गरेको व्यापारिक मालवस्तु हजारौं टन छन् । नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले केरुङका ६ सयभन्दा बढी कन्टेनर सामान रहेको बताए।
फलफूलका कन्टेनर २० टनसम्म हुने भएकाले तोकिएको तौल न्यून भएको उनले बताए । लामो समय लगानी अलपत्र परेकाले व्यापारीहरु अतालिएका छन्’, अध्यक्ष कार्कीले भने, ’१३ टन सामान ल्याउन पाउने नीतिले फलफूलका कन्टेनर ल्याउन सकिँदैन ।
फलफूलका कार्टुन सानो गाडीमा लोड गरेर ल्याउँदा भाडा महँगो पर्ने उनले बताए । बाढी अघि एक नेपाली कन्टेनर सामान काठमाडौं ल्याउने ढुवानी भाडा ९० हजार रहेकोमा अहिले २ लाख पु¥याइएको गुनासो व्यवसायीको छ ।
चाडबाड केन्द्रित गरेर आयात गरेका व्यापारिक सामान पनि यस वर्ष बिक्री गर्न नसकिने भएको छ । अब कन्टेनर आउन थालेपछि छठ अगाडि ती सामान बजार पु¥याउन सक्ने अवस्था नभएको व्यवसायीको भनाइ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्