Skip to content
Prabhu

नयाँ सहमतिपछि बोइङका कामदारले गरे हड्ताल अन्त्य

nabil
एजेन्सी । विमान कम्पनी बोइङका अमेरिकी कामदारहरूले सात हप्तासम्म चलिरहेको हड्ताल अन्त्य गर्दै कम्पनीको नयाँ प्रस्ताव स्वीकार गर्न मतदान गरेका छन् । नयाँ सम्झौताअन्तर्गत उनीहरूले आगामी चार वर्षमा ३८ प्रतिशत तलब वृद्धिको सुविधा पाउनेछन् ।
अन्तर्राष्ट्रिय मेशिनिस्ट्स एन्ड एयरोस्पेस वर्कर्स (आईएएम) यूनियनका अनुसार हड्तालमा रहेका कामदारहरू बुधवारदेखि काममा फर्कन सक्छन् । तथा ढिलोमा १२ नोभेम्बरसम्म आफ्नो रोजगारीमा फर्किनेछन् ।
झण्डै ३० हजार बोइङ कामदारहरूले १३ सेप्टेम्बरदेखि हड्ताल सुरु गरेका थिए । जसले कम्पनीको कारखानामा काममा भारी गिरावट ल्याएको थियो र कम्पनीमा भइरहेको संकटलाई अझै गहिरो बनाएको थियो ।
आईएएमका अनुसार हड्तालमा रहेका ५९ प्रतिशत कामदारहरूले नयाँ सम्झौतामा समर्थन जनाएका छन् । जसमा एक पटकका लागि १२ हजार डलर बोनस र कामदारहरूको अवकाश योजनामा केही परिवर्तनहरू पनि समावेश छन् ।
“यस जित र सम्भव बनाएको हड्तालमार्फत, आईएएमका सदस्यहरूले कार्यस्थलमा सम्मान र उचित तलबका लागि अडान लिएका छन्”, यूनियन नेता जोन होल्डनले भने ।  यूनियनले यसअघि ४० प्रतिशत तलब वृद्धिको माग राखेको थियो र कामदारहरूले बोइङका दुई अघिल्लो प्रस्तावहरू अस्वीकार गरेका थिए ।
“पछिल्ला केही महिना हामी सबैका लागि कठिन रह्यो, तर हामी सबै एउटै टिमका सदस्य हौं”, बोइङका प्रमुख कार्यकारी केली ओर्टबर्गले भने, “बोइङलाई एक प्रतिष्ठित कम्पनी बनाएको उत्कृष्टतामा फर्किन अझै धेरै काम बाँकी छ ।”
अमेरिकाको महत्वपूर्ण कम्पनीहरू मध्ये एकमा भइरहेको हड्ताललाई कति गम्भीर रूपमा हेरिएको थियो भन्ने संकेत दिँदै, कार्यवाहक अमेरिकी श्रम सचिव जुली सु गत महिना वार्तामा सहयोग पु¥याउन सिएटल पुगेकी थिइन् ।
बोइङले आफ्नो वित्तीय स्थिति बलियो बनाउन र हड्ताल अन्त्य गर्न प्रयास गरिरहेको छ । जसले अहिले कम्पनीलाई झण्डै १० अर्ब डलर घाटा पुर्याएको परामर्शदाता कम्पनी एन्डरसन इकोनोमिक ग्रुपले अनुमान गरेको छ । अक्टोबरमा, यसको व्यावसायिक विमान व्यवसायले सेप्टेम्बरको अन्त्यसम्मका तीन महिनामा ४ अर्ब डलर सञ्चालन घाटा रिपोर्ट गरेको थियो । गत हप्तामा, कम्पनीले २० अर्ब डलरभन्दा बढी रकम संकलन गर्न शेयर बिक्री सुरु गरेको थियो।
यदि हड्ताल लम्बिएमा बोइङको क्रेडिट रेटिङ घट्न सक्ने चेतावनी पछि यो कदम उठाइएको हो, जसले कम्पनीलाई ऋण लिन अझै महँगो बनाउनेछ ।
गत महिनामा, कम्पनीले झण्डै १७ हजार कामदारहरूलाई हटाउने योजना रहेको बताएको थियो, जसमा पहिलो बिदाइ सूचना नोभेम्बरको मध्यसम्ममा जारी हुने अपेक्षा गरिएको छ । बोइङमा पछिल्लो संकट जनवरीमा एउटा यात्रुवाहक विमानको एक टुक्रा आकस्मिक रूपमा आकाशमै फाटेपछि सुरु भएको थियो ।
यसको अन्तरिक्ष व्यवसायमा पनि यसको स्टारलाइनर यानले अन्तरिक्षयात्रीहरू बिना नै पृथ्वीमा फर्कनु परेको कारण प्रतिष्ठामा असर परेको थियो ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal