Skip to content
Prabhu

ज्ञान र योगका माध्यमबाट समाजमा आध्यात्मिक जागरण ल्याउन योगदान पुग्छ : राष्ट्रपति पौडेल

nabil

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान र योगका माध्यमबाट व्यक्ति तथा समाजमा आध्यात्मिक जागरण ल्याउन योगदान पुग्ने बताउनुभएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोटमा स्थापना भएको ब्रह्मकुमारी ज्ञान सरोवर एकेडेमी तथा रिट्रिट सेन्टरको आज उद्घाटन गर्दै राष्ट्रपति पौडेलले ब्रह्मकुमारीले चलाएको आध्यात्मिक जागरणको अभियानले समाजमा प्रेम, सद्भाव र शान्ति स्थापना गरी सभ्य एवं सुसंस्कृत समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने बताए ।

‘नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत भएको देश हो । पूर्वीय सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता एवं ऐक्यबद्घता देख्न सकिन्छ । जसका कारण विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउने काममा मद्दत पुग्ने विश्वास छ,’ राष्ट्रपति पौडेलले भने ।
मानिसभित्र आपसी मित्रता, प्रेम, सद्भाव र सहअस्तित्वको पवित्र विचार सृजना गर्न आवश्यक रहेको उल्लेख गर्नुहुँदै राष्ट्रपति पौडेलले भौतिक विकाससँगै आध्यात्मिक चेतना, ज्ञान र जागरणको महशुस वर्तमान विश्वले गरिरहेको बताए । ‘आज मानिस भौतिक विकासभित्र सुख र शान्तिका लागि भौंतारीरहनुको कारण पनि यहि हो । विश्वमा चरम भौतिक विकासको चाहना र होडवाजी बढ्दै गएका कारण समाजमा शान्ति, सुव्यवस्था, आपसी सद्भाव र सहयोगको भावना खस्कदै गएको छ,’ उनले भने ।

राष्ट्रपति पौडेलले नेपालमा करिब ६ दशकदेखि र विश्वमा ८७ वर्षदेखि शान्ति, सद्भाव र भाइचाराकोे उत्थानमा लागेको ब्रह्मकुमारी नेपालले मानवमात्रको चरित्र तथा कर्म उत्थान गर्ने पवित्र अभिप्रायले निर्माण गरेको सो ज्ञानसरोवर एकेडेमी तथा रिट्रिट सेन्टरबाट सुखी र शान्त समाजको स्थापनामा सहयोग पुग्ने बताए । सो अवसरमा उनले भवन उद्घाटनसँगै शिलालेखसमेत अनावरण गरे ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले मनलाई शान्ति र आनन्द बनाउन आवश्यक रहेको उल्लेख गर्दै मानिसको चञ्चल मनलाई संयमित बनाउन योग तथा ध्यान आवश्यक रहेको बताए । विश्व प्रतिस्पर्धात्मक होडबाजीमा लागिरहेको बेलामा शान्तिको सन्देश लिएर विश्वभर यस्ता अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो । पिता गणेशमान र आमा मङ्गलादेवीका कारण आफू पनि ओम शान्तिमा जोडिने अवसर पाएको उपप्रधानमन्त्री सिंहले बताए । ब्रह्मकुमारी राजयोग सेवाकेन्द्र नेपालका निर्देशक राजयोगिनी राजदादीजीले विश्वव्यापिरुपमा शान्ति, विश्वबन्धुत्व र एकताको सन्देश प्रवाह गरी एक सुखी र समृद्ध समाजको निर्माणमा केन्द्रले अभूतपूर्व भूमिका निर्वाह गरिरहेको बताए ।

केन्द्रका वरिष्ठ राजयोगी ब्रह्मकुमार तिलकबहादुर शाहीले १७ रोपनी जमिनमा दुई भवन, तपस्या धाम, शिव लिङ्ग, चार धाम, शान्ति स्तम्भलगायतका संरचनासहित एक सय जनालाई आवासीय सेवा दिन सक्ने गरी एकेडेमीको उद्घाटन गरिएको बताए । उनले डा.नयनतारा उप्रेती परिवारले विद्यालय सञ्चालन गर्न जग्गासहित निर्माण गरेको भवन बह्म्रकुमारीमा साधक भएपछि यसतर्फ आकर्षित भएर एकेडेमी सञ्चालन गर्न करोडौँ  रुपैयाँको सम्पत्ति संस्थालाई दान दिएको जानकारी दिए । उनले यस क्षेत्रलाई ज्ञान एकेडेमी र मिनि बृन्दावनका रुपमा सञ्चालन गरिने बताए ।

विष्णु ब्रह्मकुमारी ज्ञान सरोवर एकेडेमीले आयोजना गरेको कार्यक्रममा संस्थाको अन्तर्राष्ट्रिय मुख्यालयबाट आएका भारतको राजस्थान मण्डपआबुका कार्यकारी सचिव राजयोगी डा ब्रह्मकुमार मृत्युञ्जयले नेपाल शान्तिदूत गौतम बुद्धको जन्मस्थल, माता सीता एवं देव भूमि, ऋषि भूमि भएकाले यहाँबाट शान्ति एवं प्रेमकोे तरङ्ग संसारभर फैलिरहेको बताए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal