Skip to content
Prabhu

सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट

nabil

काठमाडौं । पाँचदिने कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले संसदीय भेटघाट सुरु गरेका छन् । सभामुख घिमिरेले शनिबार साँझ कम्बोडियन समकक्षी तल्लो सदन नेसनल एसेम्ब्लीका अध्यक्षसँग शिष्टाचार भेट गरेको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।

भेटमा द्विपक्षीय हित, नेपालको शान्ति प्रक्रियाको प्रगति, संसदीय आदानप्रदानलगायत विषयमा छलफल भएको छ । सभामुख घिमिरेले शनिबार नै कम्बोडियाको राष्ट्रियसभाका अध्यक्ष सम्देच मोहा रथसपिथिकाथिपादेई खुऔन सुदारीसँग भेट गरेका हुन् । भेटमा सभामुखले सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद्को ११औँ पूर्ण सत्रको आयोजना गरी आमन्त्रण गरेकामा धन्यवाद दिएका थिए । सभामुख घिमिरेले भेटमा नेपालको शान्ति प्रक्रियासँगै समावेशी र प्रगतिशील संरचना निर्माण भएको बताएका थिए । ‘नेपालमा सन् २००६ मा भएको विस्तृत शान्ति सम्झौताले स्थायित्व ल्याउनुका साथै संविधानसभाबाट सङ्घीयतासहितको समावेशी र प्रगतिशील संरचना बनाउन महत्वपूर्ण योगदान पु¥याएको छ’, सभामुखले भने ।

नेपालको शान्ति प्रक्रियामा प्राप्त गरेको सफलता र संसद्बाट हालै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पारित गरेको भन्दै सभामुखलाई कम्बोडियन संसद्ले ‘गार्ड अफ अनर’ दिएको छ । सभामुखले प्रधानमन्त्री सम्देच हुनमानेटको गतिशील नेतृत्वमा कम्बोडियाले सामाजिक–आर्थिक विकास गरेकामा खुसी व्यक्त गरे । ‘विगत दशकमा कम्बोडिया अधिराज्यले हासिल गरेको आर्थिक समृद्धिप्रति नेपाल सरकार, नेपालको संसद् र नेपाली जनताले प्रशंसा गर्दछन्,’ उनले भने ।

सभामुख घिमिरेले नेपाल र कम्बोडिया सरकारबीच भर्खरै सम्पन्न भएको हवाई सेवा सम्झौताले दुई देशका जनताबीचको सम्बन्ध र सम्पर्कलाई एकापसमा जोड्न सघाउ पुग्ने विश्वास व्यक्त गरे । सभामुख घिमिरेले आज बिहान प्रधानमन्त्री हुनमानेटसँग अनौपचारिक भेट गरेका छन् ।
पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कम्बोडियाको राजधानी नोम पेन्ह पुग्नुभएका सभामुखले आज सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद्को ११औँ पूर्ण सत्रमा सम्बोधन गर्ने कार्यक्रम छ । सभामुख आगामी मङ्सिर ११ गते मङ्गलबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal