काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी अनावरण गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सहभागी ८ टिमका मार्की खेलाडीहरुले आज बिहान धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण गरेका हुन् ।
ट्रफीमा कालापत्थरबाट ल्याइएको ढुंगा समावेश छ । अनावरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाली क्रिकेटका लागि आजको दिन विशेष रहेको बताए । एनपीएलमा सहभागी सबै टिमलाई आफ्नो समर्थन रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘अहिले सबैलाई शुभकामना दिन्छु, जितेपछि जित्नेलाई बधाई दिन्छु ।’
एनपीएलको पहिलो संस्करण यही मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने तालिका छ । प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् । प्रतियोगितामा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दै छन् । उद्घाटन खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्