काठमाडौं । रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा भएको फोर्स गाडी दुर्घटनामा वडा अध्यक्षसहित पाँच जनाको ज्यान गएको छ । काठमाडौंबाट गोकुलगङ्गा गाउँपालिका वडा नम्बर ३ रस्नालु जाँदै गरेको त्रिवेणी यातायातको ना १ ज ७१२३ नम्बरको फोर्स गाडी दुर्घटनाग्रस्त भएको हो ।
रामेछापका प्रमुख जिल्ला अधिकारी राजु पौडेलका अनुसार दुर्घटनामा तीन जना घाइते भएका छन्, जसमा एक बालक पनि रहेका छन् । तीनमध्ये एक जनाको अवस्था गम्भीर रहेको र स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदीपकुमार सिंहका अनुसार, दुर्घटनामा गोकुलगङ्गा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामचन्द्र बस्नेत, गाडी चालक हीराबहादुर कार्कीसहित पाँच जनाको मृत्यु भएको छ। अन्य मृतकहरूको पहिचान खुल्न बाँकी छ ।
घटनास्थलमा प्रहरी र स्थानीयवासीले उद्धार गरेका छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्