काठमाडौँ । आइतबार सम्पन्न उपनिर्वाचनका हालसम्म प्राप्त विवरणमा नेपाली कांग्रेसले अधिकांश जित हासिल गरेको छ भने नेकपा एमाले दोस्रो स्थानमा छ । हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले एक ठाउँमा पनि जित हासिल गर्न सकेको छैन भने माओवादी केन्द्रले पनि केही स्थानमा जित निकालेको छ । साथै नेपाल मजदुर किसान पार्टी र जनमतले पनि केही स्थानमा जित निकालेका छन् ।
१) तिलागुफा–४ मा नेमकिपाका शाही विजयी
कालीकोटको तिलागुफा गाउँपालिका–४ को वडाध्यक्ष पदमा आज भएको उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का खड्कराज शाही विजयी भएका छन् ।
वडाध्यक्षमा शाही एक सय ४३ मत प्राप्त गरी विजयी भएका छन् हो । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का नैसोभा शाहीले एक सय १५ मत प्राप्त गरेका जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिए।
उक्त उपनिर्वाचनमा नेकपा (एमाले) का ऐनबहादुर शाहीले ७८, नेपाली कांग्रेसका पैलबहादुर शाहीले ४९, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोगनबहादुर शाहीले १७ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका गगन बमले पाँच मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत पन्तले बताए।
कूल ६ सय नौ मतदातामध्ये निर्वाचनमा चार सय ११ (६७.४८ प्रतिशत) मत खसेको थियो । दुई सय १७ महिला र एक सय ९४ पुरुषले मतदान गरेका थिए । चार मत बदर भएको थियो । विसं २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट विजयी भएका परबहादुर शाहीको पहिरोमा परी निधन भएको थियो ।
२) दुहुँ–५ मा कांग्रेसका कुँवर विजयी
दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाध्यक्ष पदमा आज भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका धनबहादुर कुँवर विजयी भएका छन् ।
वडाध्यक्षमा कांग्रेसका कुँवर तीन सय ७६ मत प्राप्त गरी विजयी भएका छन् हो । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का मानसिंह बडालले तीन सय ६३ मत प्राप्त गरेका निर्वाचन अधिकृत पुष्पराज पाण्डेले जानकारी दिए। उक्त उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) का वीरसिंह कार्कीले ९८ तथा स्वतन्त्र उम्मेदवार लालसिंह कुँवरले २५ मत प्राप्त गरेका निर्वाचन अधिकृत पाण्डेले बताए। निर्वाचनमा १५ मत बदर भएको थियो ।
उपनिर्वाचनमा कूल एक हजार दुई सय ७२ मतदातामध्ये आठ सय ७७ (६९.९४ प्रतिशत) मत खसेको थियो । दुहुँ–५ गरमोराको (क) केन्द्रमा २१४ महिला र २२३ पुरुषले मतदान गरेका थियो भने (ख) केन्द्रमा २६२ महिला र १७८ पुरुष मतदानमा सहभागी भएका निर्वाचन कार्यालयले जनाएको छ । विसं २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष मनोरथ भट्टको २०८० असार ११ गते निधन भएपछि उपनिर्वाचन भएको हो ।
३) कुशे–७ मा कांग्रेसका सिंह विजयी
जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार खम्बबहादुर सिंह विजयी भएका छन् । उक्त पदका लागि आज भएको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार सिंहले तीन सय ४७ मत ल्याएर विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेका अनुसार उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का गोरखबहादुर नेपालीले तीन सय ३२ मत प्राप्त गरे ।
त्यस्तै नेकपा (एमाले) का डम्बरबहादुर घर्तीले दुई सय ५२ मत तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का लालबहादुर खत्रीले आठ मत ल्याए । उक्त निर्वाचनमा १७८ मत बदर भएको थियो । कूल एक हजार तीन सय दुई मतदाता रहेकामा नौ सय ९५६ जनाले मतदान गरेका मुख्य निर्वाचन अधिकृत घिमिरेले बताए ।
४) मोलुङ–५ मा एमालेका तामाङ विजयी
ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ को वडाध्यक्ष पदमा एमालेका उम्मेदवार गङ्गाबहादुर तामाङ तीन सय ९९ मत ल्याएर विजयी भएका छन् ।
उक्त पदका लागि आज भएको उपनिर्वाचनमा तामाङका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका घनश्याम दाहालले एक सय ७७ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुप्रसाद पोखरेलले एक सय ५१, नेकपा (माओवादी केन्द्र) का मानबहादुर सुनुवारले २३, राष्ट्रिय प्रजातन्त्र पार्टीका चन्द्रमणी दाहालले तीन र जनता समाजवादी पार्टीका इन्द्रबहादुर दर्जीले तीन मत ल्याउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
उक्त निर्वाचनमा १२ मत बदर भएको थियो । विसं २०७९ को स्थानीय तह निर्वाचनमा मोलुङ–५ का वडाध्यक्ष गोपिकृष्ण कार्कीको निधन भएकापछि आज उपनिर्वाचन भएको हो ।
५) रुकुम पश्चिमको सानीभेरी–५ मा कांग्रेसका खत्री विजयी
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं ५ को अध्यक्षमा नेपाली कांग्रेसका मोतीराम खत्री विजयी भएका छन् । आइतबार भएको उपनिर्वाचनमा कांग्रेसका खत्रीले पाँच सय ९० मत प्राप्त गर्नुभइ विजयी हुनुभयो भने उहाँका प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जसीराम बस्नेतले पाँच सय ३७ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत रामप्रसाद बस्यालले जानकारी दिए।
उहाँका अनुसार १९ मत बदर भएको थियो । कूल एक हजार चार सय ३४ मतदाता रहेकामा एक हजार एक सय ४६ मत खसेको थियो । वडाध्यक्ष अलबहादुर खत्रीको गत वर्ष उपचारका क्रममा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । अध्यक्षमा निर्वाचित मोतिराम अलबहादुरका भाइ हुनुहुन्छ ।
६) डोटीको पूर्विचौकी–६ मा कांग्रेसका थापा विजयी
डोटीको पूर्वीचौकी गाउँपालिका–६ को वडा अध्यक्षमा नेपाली कांग्रेसका मोहन थापा विजय भएका छन् । आज सम्पन्न उपनिर्वाचनमा उहाँले चार सय ६८ मत प्राप्त गरी विजयी हुनुभयो । निर्वाचन अधिकृतको कार्यालयका अधिकृत रुद्रमणि गिरीले दिएको जानकारी अनुसार उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का देवबहादुर थापाले तीन सय एक मत प्राप्त गरे ।
साथै राष्ट्रिय स्वतन्त्र पार्टीका जानकी कुमारी खड्का (कुँवर)ले ३१ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का देवीलाल थापाले २६ मत प्राप्त गरे । निर्वाचन कार्यालयका अनुसार १३ मत बदर भएको छ । कूल एक हजार पाँच सय ९३ मतदाता रहेको वडामा आठ सय ३९ मत खसेको थियो । यसअघि २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थियो ।
७) महोत्तरी रामगोपालपुर–२ मा एमालेका खाँ विजयी
महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) सकिबुल खाँ निर्वाचित भएका छन् । खाँले छ सय ३१ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का आइतीकुमारी यादवले पाँच सय ३४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए ।
कूल दुई हजार एक सय ४१ मतदाता रहेका सो वडामा एक हजार पाँच सय १४ मत खसेको थियो । निर्वाचनमा सात राजनीतिक दल र ११ स्वतन्त्र गरी १८ जना उम्मेदवार रहेका थिए । यसअघि २०७९ सालको स्थानीय तह निर्वाचनबाट अध्यक्ष बन्नुभएका माओवादी केन्द्रका मुकेशकुमार यादवको गत भदौमा मृत्यु भएपछि यहाँ उपनिर्वाचन भएको हो । मतगणना परिणामअनुसार नेपाली कांग्रेसका मोहम्मद जनिफ खाँले दुई सय ८४ र जनता समाजवादी पार्टी नेपालका नजामुद्दिन खानले ३८ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
८) रौतहटको ईशनाथ–७ मा कांग्रेसका खलिक विजयी
रौतहटको इशनाथ नगरपालिका वडा नं ७ को अध्यक्षमा नेपाली कांग्रेसका शेख अब्दुल खलिक विजयी भएको निर्वाचन आयोगले जनाएको छ । कांग्रेसका खलिकले छ सय २७ मत प्राप्त गरे भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का शेख अनवारले पाँच सय ७५ मत प्राप्त गरे ।
आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सदरे आलमले चार सय ५२ मत प्राप्त गर्दा जनमत पार्टीका शेख जमिरुल हकले एक सय ३५ मत प्राप्त गरे । साथै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का शेख अमिरुलले २४, राष्ट्रिय प्रजातन्त्र पार्टीका मदन शाहले १४, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शेख असराजले छ र जनता समाजवादी पार्टी नेपालका शेख अब्दुल अहदले चार मत प्राप्त गरेका छ । साथै स्वतन्त्र उम्मेदवारहरु शेख अंजर हुुसेनले दुई, शेख अबुजैरले एक र शेख नजिरुलले एक मत प्राप्त गरेका छ ।
९) गोरखा–५ मा माओवादी केन्द्रका रानामगर विजयी
गोरखा नगरपालिका–५ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का विष्णुबहादुर रानामगर विजयी भएका छन् । रानामगरले चार सय ८६ मत प्राप्त गर्दै निर्वाचित भएका छन् हो भने उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भाइकाजी आलेले चार सय दुई मत प्राप्त गरेका मुख्य निर्वाचित अधिकृत शिवबहादुर रानभाटले जानकारी दिए। त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का दुर्गामाया राना थापाले तीन सय ४५ मत प्राप्त गरे ।
कूल दुई हजार दुई सय २५ मतदाता रहेको उक्त वडामा एक हजार तीन सय ७३ मत खसेको थियो । खसेको मतमध्ये १८ मत बदर भएको मुख्य निर्वाचित अधिकृत रानभाट जानकारीले दिए।
उपनिर्वाचनमा विभिन्न नौ राजनीतिक दलका नौ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए । विसं २०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा विजयी हुनुभएका एमालेका खीलबहादुर रानामगरको निधन भएपछि रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो ।
१०) झापा कन्काई–६ मा स्वतन्त्र उम्मेदवार ओली विजयी
झापाको कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार ओलीको चार सय ९३ मत प्राप्त गरी विजयी भएका छन् जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए। उहाँका अनुसार नेकपा (एमाले) का तुलाराम बस्नेतले तीन सय ५६ मत, नेपाली कांग्रेसका रामगोपाल ओलीले तीन सय १७ मत, नेकपा (माओवादी केन्द्र) का गणेशबहादुर थापाले दुई सय ७७ मत प्राप्त गरे ।
यसअघि २०७९ सालमा भएको निर्वाचनमा नेकपा (एमाले) का दीर्घबहादुर थापा पाँच सय आठ मत ल्याई निर्वाचित भएका थियो । कन्काई–६ मा कूल दुई हजार ५८ मतदाता रहेकामा एक हजार पाँच सय १३ मत खसेको निर्वाचन अधिकारी नेपालले जानकारी दिए।
११) ताप्लेजुङको सिरिजङ्घा–३ एमालेका सावादेन निर्वाचित
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कुमारी सावादेन निर्वाचित भएका छन् । उहाँले तीन सय ५३ मत प्राप्त गरी विजयी भएका छन् मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले जानकारी दिए। सावादेनका निकटम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अम्वी सावादेनले दुई सय ५१ मत प्राप्त गरे । साथै नेपाली कांग्रेसका भीमकुमार लक्सम्वाले दुई सय १८ प्राप्त गर्दा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजेन्द्र लिम्बूले ५४ र राष्ट्रिय स्वतन्त्र पार्टीका देवीप्रसाद पौडेल सात मत प्राप्त गरे ।
कूल एक हजार पाँच सय २८ मतदातामध्ये आठ सय ९२ मत खसेको थियो । जसमा नौ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । विसं २०७९ को स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित दिलप्रसाद बोखिमले राजीनामा दिएपछि यहाँ उपनिर्वाचन भएको हो ।
१२) गुल्मीको मुसिकोट–१ मा कांग्रेसका श्रेष्ठ विजयी
गुल्मीको मुसिकोट नगरपालिका–१ को वडा अध्यक्षमा नेपाली कांग्रेसका आनन्द श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले एक हजार एक सय ८४ मत प्राप्त गर्दै उहाँ विजयी भएका छन् मुख्य निर्वाचन अधिकृत युवराज गौतमले जानकारी दिए। उहाँका अनुसार श्रेष्ठका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का दलबहादुर थापाले नौ सय ३० मत प्राप्त गरे । साथै नेकपा (माओवादी केन्द्र)का दुर्गाबहादुर विकले एक सय ४३, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास थापाले ४३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ईश्वरी खातीले पाँच मत प्राप्त गरेका छ ।
मुसिकोट नगरपालिका–१ मा चार हजार ९१ मतदातामध्ये दुई हजार तीन सय ३४ जनाले मतदान गरेका थिए । तीन मतदानस्थल एवं पाँच वटा मतदान केन्द्र रहेको उक्त वडामा नेपाल राष्ट्रिय सर्वोदय माविको अमराई मतदान केन्द्रमा एक हजार नौ सय ४५, सरस्वती मावि मतदान केन्द्रमा एक हजार दुई सय ९७ र जनज्योति मावि केन्द्र अरेबामा आठ सय ४९ मत खसेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत रिषीराम घिमिरेले जानकारी दिए।
वडाध्यक्ष पदका लागि आठ जनाको मनोनयन दर्ता भएको थियो । मुसिकोट–१ मा तत्कालीन वडाध्यक्ष मोहन घिमिरेको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।
१३) रौतहटको राजपुर–६ मा कांग्रेसका आलम विजयी
रौतहटको राजपुर नगरपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका समसे आलम विजयी भएका छन् निर्वाचन आयोगले जनाएको छ । कांग्रेसका आलमले सात सय ४४ मत प्राप्त गरे भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जिकरुलाहले चार सय ६३ मत प्राप्त गरे ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मोहम्मद नसिम अख्तरले चार सय ३१, जनमत पार्टीका क्यामुदिन धुनियाले ४५, स्वतन्त्र उम्मेदवार शेख रेयाजले ३०, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामनारायण प्रसाद जयसवालले १७, स्वतन्त्र उम्मेदवारहरु शेख मुस्ताक अहमदले दुई, नजमा खातुनले एक र शेख अतिउल्लाहले एक मत प्राप्त गरेका आयोगले जनाएको छ ।
१४)सप्तरीको डाक्नेश्वरी–४ मा जसपाका यादव विजयी
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ४ को अध्यक्षमा जनता समाजवादी पार्टी नेपालका देवेन्द्रप्रसाद यादव विजयी भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा यादवले तीन सय ७२ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ ।
यादवका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जोगिन्द्र राय अमातले दुई सय ७७ मत प्राप्त गरे । साथै जनमत पार्टीका उदय नारायण पण्डितले दुई सय ३१, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सञ्जयकुमार यादवले ६८, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का भागवत रामले नौ, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामकुमार यादवले छ र नागरिक उन्मुक्ति पार्टीका शिवकुमार रामले तीन र जनता समाजवादी पार्टीका रविन्द्र रायले तीन मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ ।
१५) दुल्लू नगरपालिका–१३ मा एमालेका शाही विजय
दैलेखको दुल्लू नगरपालिका–१३ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लालबहादुर शाही विजय भएका छन् । उहाँले पाँच सय ७४ मत प्राप्त गरेका निर्वाचन अधिकृत वीरेन्द्रबहादुर मल्लले जानकारी दिए। उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रेशमबहादुर शाही पाँच सय ७१ मत प्राप्त गरेका छ । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का ढकेन्द्रबहादुर शाहीले दुई सय ७८, राष्ट्रिय स्वतन्त्र पार्टीका रामबहादुर शाहीले ५३, राष्ट्रिय प्रजातन्त्र पार्टीका रेशमबहादुर मल्लले १३ र नेपाल मजदुर किसान पार्टीका पूर्णप्रसाद उपाध्यायले चार मत प्राप्त गरे ।
निर्वाचन अधिकृत मल्लका अनुसार कूल एक हजार पाँच सय २७ मत खसेकोमध्ये ३३ मत बदर भएका थिए । साथै दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष पदका लागि आइतबार नै भएको मतदानको मतगणना सुरु भएको छ । महाबुका छ वटै वडाका नौ स्थानमा रहेका १६ वटा मतदान केन्द्रमा छ हजार नौ सय ८९ मत खसेको थियो ।
१६) स्वामीकार्तिकमा एमालेकी भण्डारी विजयी
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिक उपाध्यक्षमा नेपाल कम्य्ुनिष्ट पार्टी (एमाले) की सुलोचनाकुमारी भण्डारी विजयी भएका छन् । भण्डारीले एक हजार सात सय ४० मत प्राप्त गरी विजयी भएका छन् मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिए।
भण्डारीकि निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तिसरा शाहीले एक हजार चार सय ७४ प्राप्त गरेका छ । कूल सात हजार चार सय ६० मतदातामध्ये तीन हजार नौ सय तीन मत खसेको थियो । निर्वाचित भण्डारी विसं २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसकी मैनादेवी जोशीसँग पराजित भएका थियो । गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष जोशीको विसं २०८० माघ ४ गते निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।
१७) धनुषाधाम–१ मा माओवादी केन्द्रका कापर विजयी
धनुषाधाम नगरपालिका वडा नं १ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सुनिल कापर केवट निर्वाचित भएका छन् । केवटले छ सय ८४ मत प्राप्त गरी विजयी भएका छन् निर्वाचन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार नेपाली कांग्रेसका अशोककुमार मण्डलले छ सय दुई मत प्राप्त गर्नुभयो । साथै जनता समाजवादी पार्टी नेपालका अजयकुमार यादवले चार सय ९९, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमोद यादवले तीन सय ६५, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदेव सिंह दनुवारले २७ र जनमत पार्टीका कुशेश्वर मण्डलले २५, राष्ट्रिय स्वतन्त्र पार्टीका राम नरेश दासले १० मत प्राप्त गरेका छ ।
१८) सुनसरीको गढी–६ मा कांग्रेसका साहु विजयी
सुनसरीको गढी गाउँपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका तेतर साहु निर्वाचित भएका छन् । उहाँले आठ सय १६ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ । साहुका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कुशेश्वर खेरवारले सात सय ९४ मत प्राप्त गरे । साथै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का शन्तु उरावले सात सय ७०, राष्ट्रिय प्रजातन्त्र पार्टीका कबिता कुमारी उरावले ८७ गरे ।
साथै राष्ट्रिय स्वतन्त्र पार्टीका शशिकुमार साहुले ३३, जनमत पार्टीका सिताराम यादवले ३०, समावेशी समाजवादी पार्टी नेपालका योग नारायण ऋषिदेवले १२, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजो देवी रिषिदेवले ११, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका बच्चालाल अरगरिया यादवले १० र स्वतन्त्र उम्मेदवार श्यामदेव महतोले तीन मत प्राप्त निर्वाचन आयोगले जनाएको छ ।
१९) तेह्रथुपको लालिगुँरास–८ मा कांग्रेसका लिम्बु विजयी
तेह्रथुमको नगरपालिका वडा नं ८ को अध्यक्षमा नेपाली कांग्रेसका नगेन्द्र लिम्बु निर्वाचित भएका छन् । उहाँले चार सय ४० मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत भीम निरौलाले जानकारी दिए। लिम्बुका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बुद्धबहादुर लिम्बुले तीन सय ६० मत प्राप्त गरे । साथै राष्ट्रिय स्वतन्त्र पार्टीका सञ्जिव खड्काले ३८, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कुमार विश्वकर्माले २६, राष्ट्रिय प्रजातन्त्र पार्टीका रत्न बहादुर श्रीपालीले चार, स्वतन्त्र उम्मेदवार वसन्त लिम्बुले चार र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का प्रेमबहादुर खड्काले दुई मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ । विसं २०७९ को निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित नेपाली कांग्रेसका तेजमान लिम्बुको २०८० साल चैत २९ गते निधन भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन भएको हो ।
२०) नुवाकोटको ककनी–२ मा माओवादी केन्द्रका घिमिरे बिजयी
नुवाकोटको ककनी गाँउपालिका वडा नं २ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कृष्ण घिमिरे (मिलन) निर्वाचित भएका छन् । घिमिरेले एक हजार ८५ मत प्राप्त गर्दै बिजयी भएका छन् मुख्य निर्वाचन अधिकृत शुभाषबाबु पुरीले जानकारी दिए। उहाँका अनुसार घिमिरेका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्य जिम्बा तामाङले पाँच सय ८७ मत प्राप्त गर्नुभयो ।
यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का यमबहादुर लामाले तीन सय ४१, राष्ट्रिय स्वतन्त्र पार्टीका मङ्गलसिद्वि तामाङले ८३, राष्ट्रिय प्रजातन्त्र पार्टीका खेमबहादुर थापाले २८, मङ्गोल नेशनल अर्गनाइजेसनका किरण तामाङले २६, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का मानबहादुर लामाले (तामाङ) २३, नागरिक उन्मुक्ति पार्टीका अमृत तामाङले १६ र नेपाल मजदुर किसान पार्टीका माइली माया तामाङले १४ मत प्राप्त गरेका छ । साथै स्वतन्त्र उम्मेदवारद्वय सोनु तामाङ र रमेश पुडासैनीले एक÷एक मत पाउनुभयो ।
२१) कञ्चनपुरको भीमदत्त–६ मा कांग्रेसका चन्द विजयी
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द विजयी भएका छन् । उहाँले एक हजार एक सय सात मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । चन्दका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बहादुर चन्दले चार सय ८७ मत प्राप्त गर्नुभयो । साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशीलकुमार भट्टले तीन सय ६९, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का जितन्द्रबहादुर चन्दले दुई सय २५, राष्ट्रिय स्वतन्त्र पार्टीका रामदत्त भट्टले दुई सय १८ मत प्राप्त गर्नुभयो ।
साथै स्वतन्त्र उम्मेदवार थानेश्वर लेखकले एक सय ४२ मत प्राप्त गर्दा नागरिक उन्मुक्ति पार्टीका हरिष डगौराले एक सय २७, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नारा राम कोलीले एक सय २२, स्वतन्त्र उम्मेदवार युवराज चन्दले ९९, राष्ट्रिय प्रजातन्त्र पार्टी नपालका दिलबहादुर धामीले २४, नेपाल मजदुर किसान पार्टीका दलबहादुर बोहराले १२ र जनमत पार्टीका यादव बहादुर चन्दले पाँच मत प्राप्त गर्नुभयो ।
२२) हेटौंडा–१२ मा कांग्रेसका तिवारी बिजयी
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षमा नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी विजयी भएका छन् । तिवारीले दुई हजार ६३ मत प्राप्त गर्दै विजयी भएका छन् मुख्य निर्वाचन अधिकृत अवनी मैनाली भट्टराईले जानकारी दिनुभएको छ । तिवारीका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का रबिकुमार प्रधानले एक हजार पाँच सय ६० मत प्राप्त गर्नु भयो ।
साथै नेपाल कम्युनिष्ट पार्टी (एमाले) राजेश नगरकोटीले एक हजार तीन सय ९८, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेमबहादुर भोलनले एक सय ७८, राष्ट्रिय स्वतन्त्र पार्टीका आशा विर बलले ८३, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का बलराम बलले ७३ र मङ्गोल नेशनल अर्गनाइजेसनका दीपा लामाले ३२ मत प्राप्त गरेका छ । विसं २०७९ को निर्वाचनमा तिवारी माओवादी केन्द्रका ललितबहादुर घलानसँग ३१ मतले पराजित भएका थियो ।
२३) कपिलवस्तुको शुद्धोधन–६ मा एमालेका मुसलमान विजयी
कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं ६ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मोहमद ताहिर मुसलमान विजयी भएका छन् । उहाँले एक हजार एक सय ५० मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेशकुमार यादवले एक हजार ७६ मत प्राप्त गरे । साथै जनमत पार्टीका सीताराम पटेल कुर्मीले चार सय २३, जनता समाजवादी पार्टी, नेपालका रामबहादुर कुर्मी चौधरीले तीन सय ४१, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का रफि मोहम्मद मुसलमानले एक सय ३८, राष्ट्रिय स्वतन्त्र पार्टीका अवधेशकुमार चौधरीले ९२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका इनताज अहमद धोवीले ६६ मत पाउनुभयो । साथै नागरिक उन्मुक्ति पार्टीका सूर्यकुमार चौधरी थारुले ३३, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सुब्बा थारुले १५ र स्वतन्त्र उम्मेदवार अब्दुल अब्वल फकिरले एक मत पाउनुभयो ।
२४) सप्तरीको डाक्नेश्वरी–१ मा जसपा नेपालका साह विजयी
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ को अध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका धिरेन्द्रकुमार साह विजयी भएका छन् । साहले छ सय ५२ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ । साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भुलियादेवी थरुनीले पाँच सय ८७ मत प्राप्त गरे । साथै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का भगबानी साहले दुई सय ६५, राष्ट्रिय प्रजातन्त्र पार्टीका सतिशकुमार चौधरीले एक सय ६५, जनमत पार्टीका शैलेन्द्रकुमार साह (तेली)ले ७४, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमोदकुमार सन्तले २९, नागरिक उन्मुक्ति पार्टीका अनरुदप्रसाद चौधरीले २० र स्वतन्त्र उम्मेदवार सुशील साहले दुई मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ ।
२५) उदयपुरको त्रियुगा–१२ म माओवादी केन्द्रका राई निर्वाचित
उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नविनकुमार वान्तवा राई निर्वाचित भएका छन् । उहाँले नौ सय २३ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लक्ष्मी नारायण चौधरीले छ सय आठ मत पाउनुभयो । आयोगका अनुसार नेपाली कांग्रेसका सञ्जीव काफ्लेले तीन सय ५९, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का निर्मला चौधरीले तीन सय १२, राष्ट्रिय स्वतन्त्र पार्टीका ध्रुवप्रसाद पोखरेलले दुई सय दुई, स्वतन्त्र उम्मेदवार बजरङ्गीकुमार दासले ३०, जनमत पार्टीका प्रमोद मलाहा सहनीले २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालबाबु साहले १७ र नागरिक उन्मुक्ति पार्टीका चन्द्रकला चौधरीले सात मत पाउनुभएको आयोगले जनाएको छ ।
२६) बर्दियाको ठाकुरबाबा–४ मा कांग्रेसका थारु विजयी
बर्दियाको नगरपालिका वडा नं ४ को अध्यक्षमा नेपाली कांग्रेसका अमिन थारु निर्वाचित भएका छन् । उहाँले एक हजार ४३ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ । थारुका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सेरबहादुर थारुले छ सय ७८ मत प्राप्त गरे । साथै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का विष्णुप्रसाद देवकोटाले तीन सय ३७, नागरिक उन्मुक्ति पार्टीका प्रितीलाल थारुले ७०, राष्ट्रिय प्रजातन्त्र पार्टीका रत्नले ५२ र राष्ट्रिय स्वतन्त्र पार्टीका बासुदेव शर्माले १७ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ ।
२७) रोल्पाको रुन्टीगढी–४ मा कांग्रेसका मगर निर्वाचित
रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४ को अध्यक्षमा नेपाली कांग्रेसका भुपमणि पुन मगर निर्वाचित भएका छन् । उहाँले छ सय ४३ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ । मगरका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वेगम पुनले पाँच सय ३५ मत प्राप्त गरे । साथै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नरेश जङ्ग सिंहले ७०, राष्ट्रिय प्रजातन्त्र पार्टीका पहलबहादुर वलीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीका हिमबहादुर पुनले सात र मङ्गोल नेशनल अर्गनाइजेसनका पूर्णबहादुर बुढाले सात मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ ।
२८)कीर्तिपुर–१ मा कांग्रेसका इच्छाकुमार विजयी
कीर्तिपुर–१ मा कांग्रेसका इच्छाकुमार महर्जन विजयी भएका छन् । निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार उनले पाँच सय ६२ मत प्राप्त गरेका छन् । उनका अनुसार नेकपा एमालेका हर्ष महर्जनले चार सय ९८ मत ल्याएका छन् भने माओवादी केन्द्रका सरल गोपाल महर्जनले एक सय ७३ मत ल्याए ।
प्रतिक्रिया दिनुहोस्