काठमाडौं । नेपालको एशियन इन्स्टिच्युट अफ डिप्लोम्यासी एन्ड इन्टरनेशनल अफेयर्स (आइडा) र ताजिकिस्तानका राष्ट्रपति मातहतको सेन्टर फर स्ट्राटेजिक स्टडीज (सीएसएस) बीच द्धिवक्षीय तथा बहुपक्षीय विषयहरूमा अनुसन्धान र संवाद सुदृढ गर्न समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।
आइडाका संस्थापक सुनील केसी र सिएसएसका अध्यक्ष उस्मोन्जोदा खैरिद्दिन उस्मोनले हस्ताक्षर गरेको उक्त समझदारीपत्रका अनुसार दुबै संस्थाले संयुक्त अध्ययन, विशेषज्ञहरूको आदान–प्रदान र नेपाल र ताजिकिस्तानमा आयोजना हुने शैक्षिक तथा नीतिगत कार्यक्रमहरूमा सहकार्यात्मक सहभागिता गर्नेछन्, आइडाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘दुबै संस्थाले क्षेत्रीय समझदारी, रचनात्मक संलग्नता, र आर्थिक कूटनीतिलाई सुदृढ पार्ने संयुक्त परियोजनाहरू सञ्चालन गर्न सहमति गरेका छन्’, सम्झौतापछि केसीले भने ।
साझेदारीको एक अंशका रूपमा, आइडा र सिएसएसले ‘दुशान्बे संवाद’ (दुशान्बै डाइलग) नामक मंच सहआयोजना गर्नेछन् । जसको विषयवस्तु ‘ब्हेर सेन्टर मिट्स सायथ’ रहनेछ। सम्झौता अनुसार यो संवादले ऊर्जा, सुरक्षा, कृत्रिम बुद्धिमत्ता, र जलवायु परिवर्तनजस्ता प्रमुख विषयहरूमा केन्द्रित हुनेछ ।
‘यो संवादले क्षेत्रीय तथा विश्वव्यापी विषयमा विद्वान, अनुसन्धानकर्ता र नीतिनिर्माताहरूबीच दृष्टिकोण आदान–प्रदान गर्ने साझा मंचको रूपमा काम गर्नेछ’, उस्मोनले भने ।
केसीका अनुसार यो सहकार्य नेपाल र ताजिकिस्तानबीच दीर्घकालीन शैक्षिक र नीतिगत सम्बन्ध निर्माणतर्फको महत्वपूर्ण कदम हो । दुबै संस्थाहरूले शान्ति, विकास र आपसी समझदारीमा टेकेको ज्ञान–आधारित सहकार्य प्रवद्र्धन गर्ने साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।
एशियन इन्स्टिच्युट अफ डिप्लोमसी एन्ड इन्टरनेशनल अफेयर्स (आइडा) काठमाडौं, नेपालमा आधारित एक स्वतन्त्र, गैरदलिय र गैर नाफामूलक थिङ्क ट्यांक हो। सन् २०१४ मा स्थापना भएको यस संस्थाले परराष्ट्र नीति, भू-राजनीति, अर्थतन्त्र, व्यापार, ऊर्जा र सुरक्षा सम्बन्धी अनुसन्धान तथा संवादका लागि अग्रणी मञ्चको भूमिका निर्वाह गर्दै आएको छ।
यस्तै, सेन्टर फर स्ट्राटेजिक स्टडीज (सीएसएस) ताजिकिस्तानका राष्ट्रपति मातहतको एक सरकारी अनुसन्धान संस्था हो, जसको मुख्यालय दुशान्बेमा रहेको छ। राष्ट्रपतिको आदेशअनुसार स्थापना गरिएको यो केन्द्रले ताजिकिस्तानको प्रभावकारी सार्वजनिक तथा वैदेशिक नीति कार्यान्वयनका लागि प्रमुख विश्लेषणात्मक र परामर्शदातृ संस्थाको रूपमा कार्य गर्छ ।






प्रतिक्रिया दिनुहोस्