Skip to content

जेनजी आन्दोलन: तारागाउँ रिजेन्सीलाई नेप्सेले काट्यो पत्र, सिमेन्ट उद्योगमा पनि पठाइने

nabil bank

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तोडफोड भएसँगै अनिश्चितकालका लागि बन्द भएको हायात रिजेन्सी होटललाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले पत्र काटेको छ । होटल व्यवस्थापनले सूचना जारी गर्दै अनिश्चितकालका लागि बन्द भएको जानकारी गराएको छ ।

होटलले सूचना जारी गरेर अनिश्चितकालका लागि बन्द भएको जानकारी गराए पनि नेप्सेलाई भने आधिकारिक रुपमा जानकारी गराएको छैन । त्यसको जानकारीका लागि पत्र काटेको बताइएको छ ।
हायात रिजेन्सी (तारागाउँ रिजेन्सी होटल्स लि) नेप्सेमा सूचीकृत छ । नेप्सेमा सूचीकृत भएका कम्पनीले विभिन्न २५ वटा सूचना जानकारी गराउनु पर्छ । २५ वटा सूचना भित्र व्यवसाय बन्द भएको जानकारी गराउनु पर्ने पनि रहेको छ ।

होटलले सार्वजनिक सूचना जारी गरेको भए पनि अधिकारीक रुपमा जानकारी नगराएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए । जेनजी आन्दोलनका क्रममा चन्द्रागिरी हिल्समा पनि क्षति भएकोे थियो । हिल्सले भदौ २५ गते नै अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द भएको जानकारी गराएको छ । हिल्समा सेवा अझै सूचारु भएको छैन ।

हिल्सले गत भदौ २५ गते नेप्सेलाई पत्रमा ‘यस कम्पनीको बटम स्टेशन परिसरमा संचालन भइरहेका केबलकारको मुख्य संचालन युनिट तथा केबलकारको गन्डोला पार्किंङ तथा स्टोर युनिट, कम्पनीको लेखा तथा प्रशासनिक क्षेत्र, रेस्टुरेन्ट तथा कफीशप, केबलकार टिकट काउन्टरलगायत बटम स्टेशनमा रहेका अधिकांश भौतिक संरचनाहरुमा मिति २०८२ भाद्र २४ गते मंगलबारको दिन अपरान्ह करिब ४ः२५ बजेको समयमा ठूलो संख्यामा आएका प्रदर्शनकारीहरुको समूहले यस कम्पनीको बटम स्टेशनमा तोडफोड तथा आगजनी गरी पूर्णरुपमा क्षति पुर्याएकाले  हाललाई बन्द भएकाे छ ।  उक्त तोडफोड तथा आगजनीका कारण कम्पनीको दैनिक सेवा अवरुद्ध हुन गएको व्यहोरा जानकारी गराइन्छ । साथै, हाल कम्पनीको सम्पूर्ण व्यावसायिक गतिविधि तथा नियमित काम कारवाहीको सेवा अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द रहने व्यहोरा समेत जानकारीको लागि अनुरोध गरिन्छ’ भन्ने उल्लेख छ ।

व्यवसाय बन्द भएका दुई कम्पनीको दोस्रो बजारमा कारोबार भने भइरहेको छ । आज तारागाउँको सेयर मूल्य प्रतिकित्ता ५७ रुपैयाँले घटेर ७३९ रुपैयाँमा रहेको छ । आइतबार तारागाउँको २७ हजार ८९२ कित्ता सेयर २ करोड १ लाख २२ हजार ४९ रुपैयाँको कारोबार भएको छ ।

यस्तै हिल्सको सेयर मूल्य प्रतिकित्ता ३ रुपैयाँले बढेर ८३० रुपैयाँ रहेको छ । आइतबार कम्पनीको १७ हजार ९३ कित्ता सेयर १ करोड ३८ लाख ५४ हजार ७६५ रुपैयाँको कारोबार भएको छ । अहिले दुई कम्पनीले सेवा बन्द भएको सूचना जारी गरेसँगै यी कम्पनीको सेयर कारोबार किन स्थगन नगर्ने भनेर चर्चा सुरु भएको छ । तर, सेवा बन्द भएका कम्पनीको कारोबार स्थगन गर्नुभन्दा पनि कम्पनीको अवस्था हेरेर सेयर बिक्री गर्नेले बेच्न पाउने, सस्तोमा किन्न चाहनेका लागि पनि अवसर हुने अर्काथरीको भनाइ छ ।

यस्तै नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै विद्युत लाइन काटेका तीनवटा सिमेन्ट कम्पनीलाई पनि पत्र पठाउने तयारी गरेको छ । प्राधिकरणले सोनापुर मिनरल एण्ड आयल प्रा।लि, घोराही सिमेण्ट उद्योग र शिवम् सिमेन्टको लाइन काटेको छ ।

गत शुक्रबार साँझ तीनवटै उद्योगको लाइन प्राधिकरणले काटेको हो । उद्योगमा लाइन काटेपछि उत्पादन नहुने भन्दै नेप्सेले यो विषयमा के भइरहेको छ, त्यसको जानकारी गराउनु भन्दै पत्र पठाउने तयारी गरेको बताइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime