Skip to content

वैदेशिक रोजगारीबाट फर्केर व्यावसायिक केराखेतीमा

कञ्चनपुर । वैदेशिक रोजगारीबाट फर्केका शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका मोहन राना ९ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका छन् । वार्षिक रुपमा उनले १५ लाखदेखि २० लाख रुपैयाँसम्मको बारीमा उत्पादित केरा बिक्री गरी आम्दानी लिँदै आएका छन् ।

दुई बिघा भाडामा र एक बिघा स्वामित्वको गरी तीन बिघा जग्गामा रानाले केराखेती गरेका छन् । केरा बारीमा जि नौ जातको बढी उत्पादन दिने केरा रोपिएको छ । गत वर्ष रानाले १८ लाख रुपैयाँको केरा बिक्री गरेका थिए। केराखेतीका लागि यस वर्ष प्रतिकूल मौसम भएकाले उत्पादन गत वर्षको भन्दा बढी हुनेमा राना ढुक्क छन् ।

बारीमा उत्पादित केरा दसैँ–तिहारमा बिक्री गर्ने योजना रानाको रहेको छ । ‘दशैँ–तिहारका बेला केराको माग उच्च हुन्छ’, उनले भने, ‘मूल्य पनि सोचेअनुसार नै पाइन्छ, त्यै भएर यसै समयमा केरा बिक्रीका लागि तयार गर्दै आएका छौँ ।’

व्यापारीले गाडी लिएर बारीमै पुगेर हातो हात पैसा दिएर केरा खरिद गरेर लैजाने गरेको रानाले बताए । थोकमा केराको प्रतिघडी ५०० देखि ६०० रुपैयाँमा बिक्री हुने गरेको छ । प्रतिघडीमा १० देखि १५ दर्जन बढी केरा उत्पादन हुने गरेको छ । केराखेतीका लागि रासायनिक मल, बिषादी, सिँचाइ र कामदारको ज्याला गरी रु चार लाख जतिको खर्च आउने गरेको छ ।

बारीमा रोपिएका केराको गोडमेललगायतको कार्यका लागि मौसमी रुपमा १० देखि १२ जना कामदारलाई उहाँले रोजगारी पनि दिँदै आएका छन् । ‘घरमा रोजगारी उपलब्ध नभएपछि केही वर्ष भारतमा काम गरे’, उनले भने, ‘त्यसपछि तीन वर्ष मलेसियामा बसेर काम गरे, विदेशमा काम गरेर घर खर्च मात्रै चल्थ्यो, बचत गर्न सकिँदैन्थ्यो, त्यै भएर घर फर्केर सुरुमा चार कट्ठा जग्गामा परीक्षणका रुपमा केराखेती गरे ।’

त्यसले राम्रो उत्पादन दिएपछि खेतीलाई व्यावसायिक बनाउन हौसिएको उहाँ बताउनुहुन्छ । जग्गाको क्षेत्रफल बढाउँदै लगेर आम्दानी बढ्दै गएको छ । अहिले खर्च कटाएर वर्षमा १० लाख रुपैयाँ जति रकम बचत हुने गरेको उनले बताए । कहिलेकाहीँ हावाहुरी, जङ्गली हात्तीले केराखेतीमा क्षति पुर्याउने बाहेक अन्य नोक्सान भने अरू बाली जस्तो नहुने गरेको उनले बताए ।

श्रीमान्श्री/मती दुवै जना दिनको आठ घण्टाभन्दा बढी समय केराको स्याहारसुसारमै बिताउने गरेको उनको भनाइ छ । शुक्लाफाँटा–१२ का वडाध्यक्ष नवलसिंह रानाले मोहनलाई नगरपालिका क्षेत्रमा व्यावसायिक केराखेती गर्ने अब्बल किसानका रूपमा रहेको बताए । ‘मोहनले न केवल आफ्नो परिवारलाई आत्मनिर्भर बनाएका छन्’, उनले भने, ‘गाउँका अन्य युवालाई पनि प्रेरणा दिएका छन् ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi