Skip to content

निर्माण कम्पनीले ढिलासुस्ती गर्दा अझै कालोपत्रे हुन सकेन बेलौरी–कलुवापुर सडक

कञ्चनपुर । जिल्लाको दक्षिणी क्षेत्र जोड्ने बेलौरी–कलुवापुर सडक कालोपत्रे  अझै पूरा हुनसकेको छैन । सडकखण्डको बन्साह वनक्षेत्र हुँदै कलुवापुरसम्मको सडक अझै कालोपत्रे हुन बाँकी छ । झण्डै तीन किलोमिटर सडक कालोपत्रे नहुँदा स्थानीयवासी धुलाम्मे र खाल्डाखुल्डी सडकमा सास्ती खेप्न बाध्य छन् ।
विसं २०७८ मा निर्माण कम्पनीले सडक कालोपत्रे गर्ने ठेक्का लिएको हो । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण कामले गति लिनसकेको छैन । कालोपत्रका लागि स्थानीय बासिन्दाले पटकपटक सडक बन्द गरेर दबाब दिँदै आएका छन् ।
कलुवापुरका व्यवसायी अक्कलबहादुर विष्ट ठेक्का लिएर पनि निर्माण व्यवसायीले कार्य गरेजस्तो गर्ने तर नगर्ने परिपाटीका कारण कार्य अलपत्र परेको बताए । ‘तीन किलोमिटर सडक कालोपत्रे गर्न पाँच वर्ष लाग्नु विडम्बना हो’, उनले भने, ‘काम नगर्ने ठेक्का तोडिनुपर्छ, क्षतिपूर्ति असुल गर्नुपर्छ ।’
शुक्लाफाँटा नगरपालिका–१२ का टुङ्के बोहराले राजनीतिक संरक्षणका कारण निर्माण व्यवसायीले वर्षौँदेखि काम ढिला पारेको आरोप लगाए । ‘राजनीतिक पहुँच नभएको भए अहिलेसम्म काम सकिनुपर्ने थियो’, उनले भने, ‘यस्ता कार्य नगर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्नुपर्छ ।
पूर्वाधार विकास कार्यालयका प्रमुख योगेन्द्रबहादुर अधिकारीका अनुसार कार्यालयले पटकपटक निर्माण व्यवसायीलाई कार्य अगाडि बढाउन ताकेता गर्दै आएको छ । उनले भने, गत वर्ष रु एक करोड २५ लाख विनियोजन गरिएको बजेट कार्य नहुँदा फिर्ता भयो, यस वर्ष ५० लाख रूपैयाँ विनियोजन गरिएको छ, बजेटको अभाव छैन, निर्माण व्यवसायीले मात्र काम अगाडि बढाउनुपर्छ, रकमान्तर गरेर पनि सडक कालोपत्रका लागि आवश्यक बजेटको व्यवस्था हुन्छ ।’
अधिकारीका अनुसार आउँदो चैतसम्म ठेक्का सम्झौताको म्याद बाँकी छ । ‘निर्धारित समयभित्र कार्य सम्पन्न नभए ठेक्का तोड्नेबारे विचार भइरहेको छ’, उनले भने । करिब चार दशकअघि निर्माण थालिएको सो सडकका केही भाग कालोपत्रे भइसके पनि वन्साहदेखि कलुवापुरसम्मको तीन किलोमिटर र  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको चानदेवदेखि स्याली नदीसम्मको पाँच किलोमिटर  क्षेत्रमा  पनि सडक स्तरोन्नति र कालोपत्रको कार्य हुनसकेको छैन ।
सडकको कालोपत्र गरिएका विभिन्न ठाउँमा सडक फुट्ने र खाल्डाखुल्डी हुने समस्या निरन्तर देखिँदै आएको छ । मर्मतसम्भारको पर्खाइमा रहेका ती भाग पनि बिग्रँदै गएका छन् ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi