काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीजले पुस २५ गतेदेखि उद्योग प्रभावित क्षेत्रका स्थानिय र श्रम स्वीकृती लिएर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि साधारण सेयर (आईपीओ) ल्याउने भएको छ ।
कम्पनीले जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात प्रतिकित्ता सय रुपैयाँका दरले ७५ करोड रुपैयाँको ७५ लाख कित्ता निष्कासन गर्न लागेको छ । जसमा १८ करोड ७५ लाख रुपैयाँ १८ लाख ७५ हजार कित्ता सेयर उद्योग प्रभावित क्षेत्रका स्थानियका लागि निष्कासन गर्ने भएको छ ।
उक्त सेयरमा उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपसारी साविकको नवलपरासी जिल्ला र खानी रहेको पाल्पा जिल्लाका स्थानियले आवेदन दिन पाउनेछन् ।
स्थानियले नबिल बैंकको तानसेन, बर्दघाट, बुलिबटार, गैंडाकोट शाखा कार्यालय, प्रभु बैंकको पाल्पा, बर्दघाट, परासी र बेलातारी शाखा कार्यालय तथा सिद्धार्थ बैंकको पाल्पा, बर्दघाट र परासी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
यस्तै ५ करोड ६२ लाख ५० हजार रुपैयाँको ५ लाख ६२ हजार ५०० कित्ताका लागि श्रम स्वीकृती लिएर विदेशमा गएका नेपालीले आवेदन दिन पाउनेछन् । आईपीओमा न्यूनतम १० देखि अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् ।
स्थानियले माघ ९ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा माघ २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा पुस ३० गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा माघ ९ गतेसम्म आवेदन दिन पाइने छ ।
यसको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।












प्रतिक्रिया दिनुहोस्