काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेपछि तीन वटा निजी क्षेत्रले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
आज नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गरेर यस्तो जनाएका छन् । नयाँ सरकार गठनपछि मुलुकमा स्थीरता कायम भै लगानीको वातावरण बन्ने अपेक्षा गरिएको समयमा उद्यमी व्यवसायीमाथि धरपकड र थुनछेकबाट निजी क्षेत्र निरुत्साहित भएको जनाएको छन् ।
अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान पुर्याइरहेको निजी क्षेत्र त्रसित हुनुपर्ने अवस्था सिर्जना हुँदा यसले अर्थतन्त्र, रोजगारी, राजस्व एवं पुर्वाधार निर्माणमा समेत गम्भीर असर पर्ने तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
नियामकीय निकायका प्रतिवेदनका आधारमा मात्रै पनि उद्योगी व्यवसायीलाई पक्राउ गरिएको सन्दर्भमा आर्थिक कसुरका सम्बन्धमा पहिले सुन्ने अनि कसुर प्रमाणित भएपछिमात्र थुन्ने दृष्टिकोण र व्यवहार गर्न सरकारलाई गम्भिर रुपमा आग्रह गरेका छन् ।
‘‘उद्यमी व्यवसायीहरुले अनुसन्धानलाई सघाउन आफू पूर्ण तयार रहेको र प्रहरीले बोलाएको समयमा उपस्थित हुने जानकारी गराउँदा गराउँदै पनि आर्थिक कसुरकै अभियोजनमा पक्राउ गरिनुले समग्र निजी क्षेत्रलाई चिन्तित एवं दुःखी बनाएको छ । उद्यमी व्यवसायीलाई यसरी धरपकड हुँदा व्यक्तिमात्र नभइ लाखौं रोजगारी, आपूर्ति श्रृखला, बैंकिग क्षेत्र र सम्पूर्ण प्रणालीमै गम्भीर धक्का पुग्न गै अर्थतन्त्र गम्भीर संकटमा पर्ने तर्पm हामी पुनः ध्यानाकर्षण गराउँदछौ’’ जारी विज्ञप्तिमा उल्लेख छ ।
सरकारले निजी क्षेत्रको योगदानलाई महशुस गरी हाल नीति तथा कानुन निर्माणमा निजी क्षेत्रलाई समेत सामेल गराउन थाल्दा निजी क्षेत्रले सकारात्मक रुपमौ लिएको स्मरण गरेका छन् । निजी क्षेत्रको सुरक्षा र प्रवद्र्धनका लागि निजी क्षेत्र संरक्षण एवं प्रवद्र्धन रणनीति तयार पार्ने गरि मन्त्रीपरिषदले पारित गरिसकेको समयमा भै रहेको धरपकडले निजी क्षेत्रलाई थप ससंकित बनाएको उल्लेख छ ।
‘‘कसुर प्रमाणित भए दोषी व्यक्ति कारबाहीको भागिदार हुनुपर्छ भन्नेमा निजी क्षेत्रको कुनै विमति छैन । नेपालको संविधानले दिएको सम्मानपूर्वक बाँच्न पाउने अधिकार, कसुर प्रमाणित नभएसम्म कसुरदार नमानिने व्यवस्थाको स्मरण गराउँदै, समग्र निजी क्षेत्र यसबारे सरकारलाई गम्भीर हुन आग्रह गर्दछ’’ विज्ञप्तिमा भनिएको छ ।
विगत करिब चार वर्षदेखि शिथिल बन्दै गईरहेको अर्थतन्त्र नयाँ निर्वाचन पछि आएको करिब दुई तिहाईको सरकारले लिने नीति र व्यवसायीमैत्री व्यवहारपछि अर्थतन्त्र गतिशिल बन्ने अपेक्षा निजी क्षेत्रले गरेको स्मरण गराइएको छ । तर, यस्ता गतिविधिले हालको बलियो एवं स्थीर सरकारको समयमा लगानी अभिबृद्धि गर्ने, लगानीकर्ता सुरक्षित महसुस गर्ने विषयबाट विमुख हुन नपरोस् भन्ने चाहना निजी क्षेत्रको रहेको उल्लेख छ ।












प्रतिक्रिया दिनुहोस्