Skip to content

राष्ट्रपति पौडेलसमक्ष निजी क्षेत्रको गुनासाे: लगानीको गति सुस्त भयो, उद्योगी-व्यवसायीको आत्मविश्वास फर्काइदिन पर्यो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको आर्थिक विकास, औद्योगिक विस्तार र रोजगारी सिर्जनाका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी तथा सदस्यहरूसँग राष्ट्रपति भवन शीतल निवासमा बिहीबार भएको भेटमा राष्ट्रपति पौडेलले निजी क्षेत्र नेपालको आर्थिक विकासको महत्वपूर्ण साझेदार भएको उल्लेख गर्दै लगानी, उत्पादन, रोजगारी र उद्यमशीलता विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।
राष्ट्रपति पौडेलले पछिल्लो समय नेपालले ठूलो प्राकृतिक विपद्को सामना गर्नुपरेको र त्यसबाट जनजीवनसँगै पूर्वाधार तथा आर्थिक गतिविधिमा समेत असर परेको बताए । विशेषगरी भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले विपद्पछिको उद्धार, पुनर्निर्माण र पुनः स्थापनामा महासंघले देखाएको तत्परता र सहयोगको प्रशंसा गरे ।
“सरकार र निजी क्षेत्रबीचको विश्वास र सहकार्यले मात्रै अर्थतन्त्रलाई गतिशील बनाउन सकिन्छ । उत्पादन वृद्धि, निर्यात प्रवद्र्धन, स्वदेशी तथा विदेशी लगानी आकर्षण, रोजगारी सिर्जना र नेपालको प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्दछ । उनले भने, जलविद्युत्, पर्यटन, कृषि तथा कृषिजन्य उद्योग, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रमा उपलब्ध सम्भावनालाई परिणाममुखी ढंगले उपयोग गर्नुपर्दछ ।”
राष्ट्रपति पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै एक क्षेत्रको मात्र प्रयासबाट सम्भव नहुने भन्दै राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्प आवश्यक रहेको बताए ।
भेटमा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपालको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताउँदै लगानीको गति अपेक्षाअनुसार बढ्न नसकेको, बजारमा माग कमजोर रहेको र व्यवसायी तथा लगानीकर्ताको आत्मविश्वास अझै पूर्ण रूपमा फर्किन नसकेको उल्लेख गरे ।  पछिल्ला प्राकृतिक विपद्ले अर्थतन्त्रमा थप चुनौती थपेको उनले बताए ।
अध्यक्ष श्रेष्ठले भोटेकोशी क्षेत्रमा आएको बाढी तथा त्यसबाट भएको जनधनको क्षतिले सडक, पुल, जलविद्युत्, पर्यटन, व्यापार–व्यवसाय तथा नेपाल–चीनबीचको आवागमन र आपूर्ति प्रणालीमा समेत असर पारेको बताए ।
विपद्का कारण प्रभावित पूर्वाधार तथा निजी क्षेत्रका परियोजनाको पुनर्निर्माण र पुनः स्थापनाका लागि ठूलो स्रोत आवश्यक पर्ने भन्दै सरकार एक्लैले यस्तो पुनर्निर्माण सम्पन्न गर्न कठिन हुने उनको धारणा थियो ।
महासंघ अध्यक्ष श्रेष्ठले निजी क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनमा महत्वपूर्ण योगदान गर्दै आएको र ठूलो संख्यामा रोजगारी प्रदान गरिरहेको उल्लेख गर्दै निजी क्षेत्रलाई व्यवसाय गर्ने क्षेत्रका रूपमा मात्र नभई मुलुक निर्माणको महत्वपूर्ण साझेदारका रूपमा हेर्नुपर्ने बताए । लगानी, उत्पादन र रोजगारी विस्तारका लागि स्थिर तथा पूर्वानुमानयोग्य नीति, स्पष्ट कानुनी व्यवस्था, गुणस्तरीय पूर्वाधार, प्रभावकारी सरकारी सेवा र लगानीमैत्री वातावरण आवश्यक रहेको उनले बताए ।
“सरकार र निजी क्षेत्रबीचको संवादलाई अझ संस्थागत र परिणाममुखी बनाउन जरुरी छ । व्यवसायीले व्यवहारमा भोगिरहेका समस्या नीतिगत रूपमा सम्बोधन गर्न सके मात्रै त्यसको सकारात्मक प्रभाव लगानी, उत्पादन र रोजगारीमा पर्ने छ ।” उनले भने । महासंघले लगानी प्रवद्र्धन तथा समग्र आर्थिक विकासका लागि विद्यमान ऐन–कानुनमा आवश्यक सुधारका सम्बन्धमा सरकारसमक्ष सुझाव प्रस्तुत गर्दै आएको पनि उहाँले जानकारी दिए ।
महासंघ अध्यक्ष श्रेष्ठले राष्ट्रपतिबाट निजी क्षेत्रलाई आर्थिक विकासको महत्वपूर्ण साझेदारका रूपमा दिइँदै आएको सकारात्मक दृष्टिकोण र मार्गदर्शनका लागि महासंघका तर्फबाट धन्यवाद व्यक्त गर्दै सरकारसँगको निरन्तर संवाद र सहकार्यलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima