काठमाडौं । वन्डर्स इनर्जीको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सभामा कम्पनीले निर्माण गरिरहेको ९ मेगावाट क्षमताको खिम्ती–ध्वाङ साना जलविद्युत आयोजनाको निर्माण कार्य २०८४ चैतभित्र सम्पन्न गर्ने लक्ष्य रहेको जनाएको छ ।
कम्पनीका कार्यकारी सञ्चालक प्रकाश दुलालका अनुसार आयोजनाका लागि आवश्यक सरकारी जग्गा प्राप्ति तथा रुख कटानको अनुमति वैशाख १५ गतेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भइसकेको छ । आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा भएसँगै निर्माण कार्यले थप गति लिने अपेक्षा गरिएको उनले बताए।
आयोजनाको लागत करिब १ अर्ब ९० करोड रुपैयाँ अनुमान गरिएको छ । यसमध्ये १ अर्ब २५ करोड रुपैयाँ ऋण लगानीका लागि एनएमबि बैंकसँग समझदारी अन्तिम चरणमा पुगेको जनाइएको छ।
बाँकी ६५ करोड रुपैयाँ स्वपुँजीमध्ये हालसम्म ३५ करोड रुपैयाँ जुटिसकेको र बाँकी ३० करोड रुपैयाँ आगामी असोजभित्र संकलन गर्ने गरी काम भइरहेको जनाइएको छ ।
सभाले कम्पनीको चुक्ता पुँजी वृद्धि गरी १०० करोड रुपैयाँ पुर्याउने निर्णय गरेको छ। यसमध्ये ७० करोड रुपैयाँ स्वपुँजी र ३० करोड रुपैयाँ प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत जुटाउने योजना पारित गरिएको छ।
साथै, आयोजना निर्माणका लागि आवश्यक बैंक ऋण लिने तथा सम्बन्धित प्रक्रिया अघि बढाउने अधिकार कम्पनीको सञ्चालक समितिलाई प्रदान गर्ने निर्णय पनि साधारणसभाले गरेको छ।









प्रतिक्रिया दिनुहोस्