काठमाडौं । धितोपत्रको दोस्रो बजार सुधार योजनालाई चरणबद्ध रूपमा कार्यान्वयन गर्न समन्वय तथा सहजीकरण गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्ड (सेबोन) ले उच्चस्तरीय समिति गठन गरेको छ।
सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य तथा बोर्डको सोही आर्थिक वर्षको पूँजी बजार नीतिअनुसार मार्जिन लेन्डिङ, इन्ट्राडे कारोबार, धितोपत्र सापटी तथा उधारो र शर्ट सेलिङ लगायतका दोस्रो बजार सुधार कार्यक्रम कार्यान्वयनका लागि बोर्डको सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा समिति गठन गरिएको हो।
समितिमा बोर्डका तीन प्रतिनिधिका साथै नेपाल स्टक एक्सचेञ्ज (नेप्से), सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) तथा स्टक ब्रोकर एसोसिएसन अफ नेपालबाट एक–एक जना प्रतिनिधि सदस्य रहेका छन्।
बोर्डका अनुसार समितिले मार्जिन लेन्डिङ, इन्ट्राडे कारोबार, धितोपत्र सापटी तथा उधारो तथा शर्ट सेलिङ कार्यान्वयनका लागि आवश्यक कानुनी, प्राविधिक, सञ्चालन तथा प्रक्रियागत व्यवस्थाबारे सुझाव दिनेछ। साथै, यी सेवाको चरणबद्ध कार्यान्वयनका लागि आवश्यक तयारी गर्ने, दोस्रो बजार सुधारसँग सम्बन्धित कार्यमा समन्वय र सहजीकरण गर्ने तथा आवश्यकता अनुसार बैंक तथा वित्तीय संस्था लगायत अन्य सरोकारवाला निकायसँग सहकार्य गर्ने जिम्मेवारी पनि समितिलाई दिइएको छ।
बोर्डले दोस्रो बजार सुधार कार्यक्रमलाई चार चरणमा लागू गर्ने नीति लिएको छ। पहिलो चरणमा मार्जिन लेन्डिङ, दोस्रो चरणमा इन्ट्राडे कारोबार, तेस्रो चरणमा धितोपत्र सापटी तथा उधारो तथा चौथो चरणमा आवरणयुक्त शर्ट सेलिङको व्यवस्था लागू गरिनेछ।
यस नीतिअनुसार समितिले मार्जिन लेन्डिङ सम्बन्धी नियमावलीको मस्यौदामाथि छलफल सुरु गर्दै आफ्नो कार्य प्रारम्भ गरिसकेको बोर्डले जनाएको छ।





प्रतिक्रिया दिनुहोस्