काठमाडौं । नेपालको म्युचुअल फण्ड बजारमा प्रभु क्यापिटलद्वारा सञ्चालित फण्डहरूले उच्च नेट एसेट भ्यालु (न्याभ) कायम गर्दै लगानीकर्ताको ध्यान आकर्षित गरेका छन्। हाल सञ्चालनमा रहेका प्रभु स्मार्ट फण्ड, प्रभु सेलेक्ट फण्ड र प्रभु सिस्टेम्याटिक इन्भेस्टमेन्ट स्किम (एसआईएस) मध्ये तीनवटै फण्डको न्याभ बजारमा सञ्चालनमा रहेका अधिकांश म्युचुअल फण्डको तुलनामा उच्च रहेको छ ।
हाल प्रभु स्मार्ट फण्डको न्याभ १४.०३ रुपैयाँ, प्रभु सेलेक्ट फण्डको १३.०४ रुपैयाँ र प्रभु सिस्टेम्याटिक इन्भेस्टमेन्ट स्किमको १०.७५ रुपैयाँ रहेको छ। यद्यपि अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बजारको उतारचढाव तथा लाभांश वितरणका लागि नाफा फिक्स गरिएकाले न्याभमा केही गिरावट आएको प्रभु क्यापिटलका अनुसन्धान तथा म्युचुअल फण्ड प्रमुख सौगात पन्त बताउँछन् ।
यस अवधिसम्म आउँदा १२ प्रतिशतभन्दा धेरै न्याभ भएका म्युचुअल फण्ड २ वटा रहेका छन् । ११ प्रतिशतभन्दा माथि न्याभ भएका म्युचुअल फण्ड कम्पनी ७ वटा रहेका छन् भने बाँकी म्युचुअल फण्डको न्याभ १० प्रतिशतभन्दा माथि ११ प्रतिशतभन्दा कम रहेको छ।
पन्तका अनुसार म्युचुअल फण्ड भनेको धेरै लगानीकर्ताबाट संकलन गरिएको रकमलाई सेयर, ऋणपत्र, ट्रेजरी बिल, मुद्दती निक्षेपलगायत विभिन्न वित्तीय साधनमा व्यावसायिक रूपमा लगानी गर्ने व्यवस्था हो। फण्डको सम्पूर्ण लगानी निर्णय अनुभवी फण्ड व्यवस्थापकले गर्ने भएकाले बजारको पर्याप्त ज्ञान वा समय नभएका लगानीकर्ताले पनि सहज रूपमा पुँजी बजारमा सहभागिता जनाउन सक्ने वातावरण सिर्जना हुन्छ।
उनका अनुसार प्रत्यक्ष रूपमा सेयर छनोट गरेर लगानी गर्दा कम्पनी विश्लेषण, बजारको अवस्था र जोखिमको मूल्यांकन गर्नुपर्ने हुन्छ। तर म्युचुअल फण्डमा भने एउटै इकाई खरिद गर्दा विभिन्न कम्पनी र वित्तीय साधनमा एकैसाथ लगानी हुने भएकाले जोखिम स्वतः विविधीकरण हुन्छ। यसले लगानीकर्तालाई तुलनात्मक रूपमा सुरक्षित प्रतिफल प्राप्त गर्ने सम्भावना बढि हुने पन्तको बुझाई छ।
नेपालमा अहिले बैंक, मर्चेन्ट बैंक तथा क्यापिटल कम्पनीहरूले क्लोज–एन्ड र ओपन–एन्ड दुवै प्रकारका म्युचुअल फण्ड सञ्चालन गरिरहेका छन्। पछिल्ला वर्षहरूमा संस्थागत लगानीको विस्तारसँगै म्युचुअल फण्डको दायरा पनि बढ्दै गएको देखिन्छ।
म्युचुअल फण्डको वास्तविक मूल्यांकन गर्ने प्रमुख आधार नेट एसेट भ्यालु (न्याभ) हो। फण्डसँग रहेको कुल सम्पत्तिबाट दायित्व घटाएर प्रतिइकाई मूल्य निकालिने भएकाले न्याभले फण्डको सम्पत्ति मूल्य र वित्तीय अवस्थाको बारेमा जानकारी दिने पन्ट बताउँछन् ।





प्रतिक्रिया दिनुहोस्