Skip to content

संसद् बैठकमा सेयर कारोबार गर्न रोक: मनलाग्दी ड्रेस लगाउन नपाइने, लोगो अनिवार्य

डाक्टरले सिफारिस गरेको बाहेक चस्मा लगाउन नपाइने

फोटो एआई
काठमाडौं । प्रतिनिधिसभा बैठकका क्रममा सांसदहरूले संसद् हलभित्र बसेर सेयर कारोबार गर्न नपाउने भएका छन्। साथै, तोकिएको ड्रेसकोड पालना गर्नुपर्ने, सांसदको आधिकारिक लोगो अनिवार्य रूपमा लगाउनुपर्ने र चिकित्सकले सिफारिस गरेको अवस्थाबाहेक अन्य चस्मा लगाएर बैठकमा उपस्थित हुन नपाइने व्यवस्था गरिएको छ।
बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद्को गरिमा, मर्यादा र अनुशासनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गर्दै सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई यस्तो निर्देशन दिएका हुन्।
बैठकमा सभामुख अर्यालले संसद् बैठकको समयमा मोबाइल तथा ल्यापटपमार्फत सेयर कारोबारलगायत बैठकको गरिमाविपरीत हुने गतिविधि नगर्न सांसदहरूलाई सचेत गराएका थिए। उनले संसद्को मर्यादा कायम राख्न सबै सांसदले निर्धारित पोशाक लगाउने, आधिकारिक लोगो अनिवार्य रूपमा प्रयोग गर्ने र चिकित्सकको सिफारिसबिना कुनै पनि प्रकारको कालो चस्मा प्रयोग नगर्न निर्देशन दिएको श्रोतले बतायो ।
पछिल्लो समय केही सांसदहरूको पोशाक र चस्माको प्रयोग संसदभित्रै बहसको विषय बनेपछि संसद्को गरिमा र संसदीय मर्यादा कायम राख्न यस्तो व्यवस्था गरिएको हो ।
सभामुखका सचिवालय श्रोतका अनुसार अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकमा सांसदहरूको अनुशासन, संसद्को गरिमा र बैठक सञ्चालनलाई थप व्यवस्थित बनाउने विषयमा समेत छलफल भएको थियो। सभामुखले सम्बन्धित राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूलाई आफ्ना सांसदबाट ड्रेसकोड र अनुशासनको पूर्ण पालना गराउन आग्रह गरेका छन्।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T