काठमाडौं । नेपालमा पछिल्लो दुई दशकमा सवारी साधनको संख्या उल्लेख्य रूपमा बढे पनि सोहीअनुसार सडक पूर्वाधार, ट्राफिक व्यवस्थापन र सडक सुरक्षामा सुधार हुन नसकेको भन्दै सरोकारवालाले सरकारको ध्यानाकर्षण गराएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले राजधानीदेखि पालिकास्तरसम्मका सडक पूर्वाधारमा विशेष ध्यान दिने बेला आएको बताएका छन्। पछिल्लो २० वर्षमा सडकमा कति सवारी साधन थपिए र त्यसअनुसार सडक तथा ट्राफिक पूर्वाधार कति विस्तार भयो भन्ने विषयमा समीक्षा गर्नुपर्ने उनको भनाइ छ।
उनले सवारी साधनको संख्या बढ्दै गए पनि त्यसअनुसार ट्राफिक व्यवस्थापन र सडकको क्षमता विस्तार हुन नसकेको बताए। सडकको अवस्था उही रहने तर सवारी साधनको संख्या निरन्तर बढ्दै जाँदा दुर्घटना, जाम र यात्रामा हुने कठिनाइ थपिँदै गएको उनले उल्लेख गरे।
अध्यक्ष श्रेष्ठले दशैंको समयमा नयाँ सवारी साधनको दर्ता खुलाउनसमेत सरकारसँग आग्रह गरे। नेपालमा उच्च भन्सार दरका कारण सवारी साधन महँगो पर्ने गरेको भन्दै उनले कर तथा भन्सार नीतिमा पनि पुनर्विचार गर्नुपर्ने धारणा राखे।
नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले पूर्वाधार क्षेत्रमा लगानी बढाउन सके रोजगारी सिर्जना गर्न सकिने बताए। उनले अटोमोबाइल क्षेत्रलाई पनि सरकारको प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।
उनका अनुसार सडक, यातायात तथा अन्य पूर्वाधारमा हुने लगानीले प्रत्यक्ष रूपमा आर्थिक गतिविधि बढाउनुका साथै रोजगारीका अवसरसमेत सिर्जना गर्न सक्छ। त्यसैले पूर्वाधार विकासलाई दीर्घकालीन आर्थिक विकासको आधारका रूपमा अघि बढाउनुपर्ने उनको भनाइ छ।
यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले संघ र प्रदेश सरकारका नीति समान नहुँदा यातायात क्षेत्रमा समस्या देखिएको बताए। यातायातसम्बन्धी नीति निर्माण गर्दा तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनले बताए।
सिटौलाले विद्युतीय सवारी साधन ९ईभी० को प्रयोग बढ्दै गएकाले आवश्यक चार्जिङ स्टेसन निर्माणमा सरकारले अनुदान तथा प्रोत्साहन दिनुपर्ने माग गरे। चार्जिङ पूर्वाधार पर्याप्त नहुँदा ईभी प्रयोगकर्ताले समस्या भोग्नुपरेको उनको भनाइ छ।
उनले नेपालमा नक्कली तथा गुणस्तरहीन सवारीसाधनका पार्टपुर्जाको आयात बढिरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारसँग माग गरे। गुणस्तरहीन पार्टपुर्जाको प्रयोगले सवारी सुरक्षामा समेत गम्भीर असर पार्न सक्ने भएकाले बजार अनुगमन र नियमन प्रभावकारी बनाउनुपर्ने उनले बताए।
नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले पनि सडक सुरक्षालाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेका छन्। सडक दुर्घटना भएपछि चालकको लापरबाहीलाई मात्रै दोष दिएर उम्कन नहुने उनको भनाइ छ।
उनले सडकमा हुने जथाभावी पार्किङ, लेन अनुशासनको पालना नहुनु तथा सडक इन्जिनियरिङ प्रभावकारी नहुनुलगायतका कारणले सडक सुरक्षा चुनौती थपिएको बताए। दुर्घटना न्यूनीकरणका लागि चालकसँगै सडक पूर्वाधार, ट्राफिक व्यवस्थापन र सम्बन्धित निकायको भूमिकासमेत प्रभावकारी हुनुपर्ने उनले उल्लेख गरे।
महानिरीक्षक कार्कीका अनुसार गत आर्थिक वर्षमा नेपालमा २९ हजार ९८८ वटा सवारी दुर्घटना भएका छन्। यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ४ प्रतिशत बढी हो।
दुर्घटनामा परी करिब ४७ हजार जना घाइते भएको र दैनिक औसतमा ७ जनाको ज्यान जाने गरेको तथ्यांक उनले प्रस्तुत गरे। दुर्घटनामा सबैभन्दा ठूलो हिस्सा मोटरसाइकलको रहेको भन्दै उनले करिब ६९ प्रतिशत दुर्घटना मोटरसाइकलसँग सम्बन्धित रहेको उल्लेख गरे। कारलगायत अन्य सवारी साधन पनि दुर्घटनाको कारण बन्ने गरेको उनले बताए।
महानिरीक्षक कार्कीले विद्युतीय सवारी साधन प्रयोगकर्ताबाट पार्टपुर्जालगायत विषयमा विभिन्न गुनासा आउने गरेको बताए। ईभीमा देखिएका प्राविधिक तथा पार्टपुर्जासम्बन्धी समस्यालाई सम्बन्धित निकायले गम्भीरतापूर्वक लिनुपर्ने उनले सुझाव दिए।
उनले नेपालमा नयाँ सवारी साधन भित्र्याउँदा सवारी साधनको संख्यामा मात्रै ध्यान नदिई त्यसका लागि आवश्यक सडक तथा अन्य पूर्वाधारको अवस्थालाई समेत विचार गर्नुपर्ने बताए।
‘गाडी ल्याउने मात्रै होइन, गाडी चल्ने सडक र सुरक्षित यातायात प्रणाली निर्माणमा पनि ध्यान दिनुपर्छ,’ भन्ने सन्देशसहित सरोकारवालाले सरकारलाई यातायात तथा सडक सुरक्षाको समग्र नीतिमा सुधार गर्न आग्रह गरेका छन्।
नेपालमा सवारी साधनको संख्या बढ्दै जाँदा सडकको क्षमता विस्तार, ट्राफिक व्यवस्थापन, पार्किङ, चार्जिङ पूर्वाधार, गुणस्तरीय पार्टपुर्जाको उपलब्धता र सडक सुरक्षालाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता देखिएको छ।





प्रतिक्रिया दिनुहोस्