काठमाडाैं। तातोपानी नाका पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । सडक अवरुद्ध भएपछि तातोपानी नाकामार्फत हुने आयातनिर्यात प्राय: ठप्प भएको छ ।
बाह्रबिसे–कोदारी सडकखण्डका विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि उक्त नाका २६ दिनदेखि पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको हो । बाह्रबिसे–कोदारी खण्डको कुल लम्बाइ २६ किलोमिटर छ । भोटेकोसी गाउँपालिका–२ स्थित कोदारी (इको) क्षेत्रको सडकखण्डमा असार ३१ गते आएको पहिरोले सडक भासिएपछि दुई देशबीचको सडक सञ्जाल टुटेको छ । नेपाल र चीनलाई जोड्ने उत्तरी सिमानाको यो मार्ग अन्तरराष्ट्रिय व्यापारिक मार्ग हो ।
अरनिको राजमार्ग डाक्लाङमा साउन ३ गतेदेखि र लिपिङ बजार नजिकै साउन १९ गतेदेखि वर्षाका कारण सडक अवरुद्ध भएको छ । तातोपानी भन्सारमार्फत हुने आयातनिर्यात पूर्ण रूपमा ठप्प हुँदा नेपाल मात्रै होइन, चीनतर्फका गोदाम र सडकमा रोकिएका मालवस्तु पनि नेपाल भित्रिन सकेका छैनन् । अरनिको राजमार्गको कोदारी, डाकलाङलगायत स्थानमा पहिरो जानेक्रम अझै रोकिएको छैन ।
‘उक्त भन्सार कार्यालयका भन्सार अधिकृत दिपेन्द्रप्रकाश गिरीले चालु आर्थिक वर्षका लागि सरकारले २५ अर्ब २५ करोड राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरको छ’ भने । “सडक अवरुद्ध हुनेक्रम जारी छ । भन्सारबाट कुनै काम हुन सकेको छैन”, प्रमुख भन्सार अधिकृत गिरीले भने, “दुई देशबीचको व्यापारमा मात्र होइन आवतजावत गर्न कठिन भएको छ ।” भोटेकोसीको लार्चामा रहेको तातोपानी सुक्खा बन्दरगाह पहरोमुनि भएकाले माथिबाट पहिरो झर्ने गरेको छ ।
सडक अवरुद्ध हुँदा दसैँ, तिहारलक्षित सामान, स्याउ, लसुनजस्ता फलफूल र विभिन्न उद्योग निर्माणका सामान बोकेका कन्टेनर चीनको सिगर्चे, ल्हासा र न्यालमलगायत सहरमा रोकिएको भन्सार कार्यालयले जनाएको छ । करिब ५०० कन्टेनर चिनियाँ क्षेत्रमा र नेपालतर्फ कोदारीमाथि ४६ कन्टेनरमा करिब २० अर्ब बढीको सामान रोकिएका छन् ।
तातोपानी नाकाबाट व्यापार गर्ने व्यवसायी ठूलो समस्यामा परेको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतले बताए । व्यवसायीसँगै ६४० को सङ्ख्यामा मजदुर र ट्रान्सपोर्ट तथा भन्सारसम्बन्धी कामकाज गर्ने ३०० कामदारको कामसमेत गुमेको छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घ, नेपाल हिमालय सीमापार वाणिज्य सङ्घलगायतका व्यापारिक सङ्घसंस्थाले विज्ञप्तिमार्फत उत्तरी नाका खुलाउन अनुरोध गरेका छन् ।
उत्तरी नाकाको छोटो र सहज मानिएको तातोपानीबाट विशेषत:तयारी पोशाक, जलविद्युत् आयोजनाका हेभी इक्विपमेन्ट, तथा कृषि औजार, ब्याग, जुत्ता, चप्पल, स्टेशनरी, फर्निचर, खेलौना, फलफूल, शृङ्गारका सामग्री, बीउबिजन, इलेक्ट्रिक गाडी, कम्प्युटर पार्टस्, उद्योगको कच्चा पदार्थलगायत वस्तु आयात हुने गरेको छ ।
“नेपाली बजारमा पाइने धेरै उपभोग्य वस्तु चीनबाट आयात हुने गरेको छ”, हिमालयन सीमापार वाणिज्य सङ्घका महासचिव रामचन्द्र पराजुलीले भने, “तर सरकारले नाकालाई सहज बनाउन ध्यान दिएको देखिएन । यसबाट व्यवसायी मारमा परेका छन् ।” धेरै व्यवसायीले हरेक वर्ष झन्झट बेहोर्दा आर्थिक रुपमै धरासायी भएको उनले बताए ।
चाडबाडको मुखमा आयात व्यापारको आकार ठूलो हुने भए पनि सडक अवरुद्ध हुँदा बर्सेनि यस्तो समस्या आउने गरेको छ । गत वर्ष पनि असारदेखि असोजसम्म सोही स्थानमा सडक अवरुद्ध हुँदा दसैँ र तिहारका लागि आयात गरिएका मालवस्तु नेपाल भित्रन पाएका थिएनन् ।
डिभिजन कार्यालयका चरिकोटका प्रमुख ई नारायणदत्त भण्डारीले डाकलाङ, घट्टेखोला र इको पहिरोका कारण आवतजावत गर्न कठिन भएको बताए ।
इको पहिरो नियन्त्रण गर्न चिनियाँ अनुदान प्राप्त भए पनि समयमै काम सुरु नहुँदा सास्ती खेप्नुपरेको भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पा बताए ।
“पहिरो नियन्त्रण कसरी गर्ने ? सडक डिभिजन कार्यालय चरिकोटले खटाएका मेसिन र कर्मचारीले काम गरेर सडक बन्ने सम्भावना छैन”, उनले भने, “इको पहिरो भासिएर तत्काल बनाउन सकिने अवस्था छैन । भासिएको जमिनमाथि कोदारी थामी गाउँ छ । जहाँ ६० परिवार बस्छन् । जमिन जतिजति भासिन्छ, बस्ती उति जोखिममा पर्छ । भासिएको हिलो भोटेकोसी नदीले बगाएर लान्छ । चारकिलोको पहिरोमाथि पनि पन्थली गाउँ छ । त्यही ५० भन्दाबढी घर छन् । ठूला मेसिनको थर्कावटले गाउँ बग्ने जोखिम छ । तलबाट उठाएर सडक बनाउने ठाउँ छैन ।” प्रत्येक वर्ष वर्षायाममा पहिरो जाने गरेका कारण दुई देशबीच व्यापार गर्न समस्या पर्दै आएको छ ।
“वर्षा सुरु हुनेबित्तिकै माथिबाट लेदो बगेर सडक नै बगाइदिने समस्याका कारण व्यवसायीहरु मर्कामा छन्”, भोटेकोसी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठले भने, “जब वर्षा लाग्छ, पहिरो जान्छ अनिमात्रै काम सुरु गर्ने परिपाटीले सास्ती भोग्नु परिरहेको छ ।”
प्रतिक्रिया दिनुहोस्