काठमाडौं। देशका विभिन्न स्थानमा बाढी, डुबान तथा पहिरोको जोखिम बढिरहेका बेला गृह मन्त्रालयले विपद्मा परेका नागरिकको उद्धार तथा तत्काल सहयोगका लागि टोल फ्री नम्बर १२३४ मा फोन गर्न आग्रह गरेको छ।
गृह मन्त्रालयअन्तर्गतको १२३४ विपद् कल सेन्टर २४ सै घण्टा सञ्चालनमा रहेको छ। बाढी, डुबान, पहिरो, भूकम्प, आगलागी, हिमपहिरो, चट्याङ, आँधी–हुरीलगायत कुनै पनि विपद्मा परेका व्यक्तिले उद्धार तथा सहयोगका लागि उक्त नम्बरमा सम्पर्क गर्न सक्नेछन्।
आफू विपद् नपरे पनि कोही व्यक्ति समस्यामा परेको वा तत्काल उद्धार आवश्यक रहेको जानकारी भएमा समेत १२३४ मा फोन गरी सूचना दिन गृह मन्त्रालयले सर्वसाधारणलाई आग्रह गरेको छ।
फोन गर्दा घटना के भएको हो, कहाँ भएको हो, अनुमानित कति मानिस प्रभावित छन् र तत्काल कस्तो सहायता आवश्यक छ भन्ने जानकारी स्पष्ट रूपमा दिनुपर्नेछ। प्राप्त सूचनाका आधारमा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक उद्धार तथा सहायता परिचालन गरिने मन्त्रालयले जनाएको छ।
समयमै दिएको एउटा सूचनाले कसैको ज्यान बचाउन सक्छ।






प्रतिक्रिया दिनुहोस्