काठमाडौं । रसुवामा आएको भीषण बाढीले रसुवा र नुवाकोटमा सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ। बाढीका कारण दुवै जिल्लामा गरी सञ्चालनमा रहेका करिब ३५९ मेगावाट र निर्माणाधीन करिब ३९४ मेगावाट क्षमताका जलविद्युत् आयोजना प्रभावित भएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अनुसार रसुवामा मात्रै सञ्चालनमा रहेका जलविद्युत् आयोजनाको कुल क्षमता करिब २३६ मेगावाट छ भने निर्माणाधीन आयोजनाको क्षमता करिब २५५ मेगावाट रहेको छ। त्यस्तै, नुवाकोटमा सञ्चालनमा रहेका आयोजनाको क्षमता करिब १२३ मेगावाट र निर्माणाधीन आयोजनाको क्षमता करिब ५२.६ मेगावाट रहेको छ।
बाढीबाट आयोजनाका पहुँचमार्ग, प्रसारण लाइन तथा अन्य भौतिक पूर्वाधारमा क्षति पुगेको बताइएको छ। पूर्वाधारमा क्षति पुगेपछि कतिपय आयोजनाको विद्युत् उत्पादन प्रभावित भएको छ भने निर्माणाधीन आयोजनाको कामसमेत प्रभावित भएको छ।
बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ। आयोजनाका संरचना, उत्पादन क्षमता तथा निर्माणाधीन पूर्वाधारमा भएको क्षतिको प्राविधिक मूल्यांकनपछि मात्रै वास्तविक क्षतिको यकिन हुने बताइएको छ।
रसुवा र नुवाकोट जलविद्युत् उत्पादनका लागि महत्त्वपूर्ण जिल्ला मानिन्छन्। यी जिल्लाका आयोजनामा बाढीबाट भएको क्षतिले विद्युत् उत्पादनमा असर पार्नुका साथै निर्माणाधीन आयोजनाको निर्माण अवधि र लागतसमेत बढ्न सक्ने देखिएको छ।
प्रतिक्रिया दिनुहोस्