काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले प्रभावित क्षेत्रको भयावह अवस्था सार्वजनिक गर्दै संघीय सरकारको राहत तथा उद्धार प्रयासप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।
बाढीले सर्वाधिक प्रभावित क्षेत्रमै रहेका अध्यक्ष अधिकारीले सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव सार्वजनिक गर्दै घाइतेको उद्धारदेखि शव व्यवस्थापनसम्मका आधारभूत काममा समेत राज्यको उपस्थिति प्रभावकारी रूपमा महसुस हुन नसकेको बताएका छन्।
उनले मरणासन्न अवस्थाका घाइतेहरूको उद्धारका लागि प्रधानमन्त्री कार्यालयदेखि सम्बन्धित सबै निकायसँग समन्वय गरेर हेलिकप्टरको प्रतीक्षा गरे पनि कुनै सुनुवाइ नभएको बताए। त्यसपछि घाइतेलाई कालिकास्थान–जिवजिवे अस्पताल हुँदै करिब १० घण्टापछि धुञ्चे अस्पताल पुर्याउनुपरेको पीडादायी अवस्था आफूहरूले भोग्नुपरेको उनको भनाइ छ।
“खोलाको किनारमा ५० औँ शवहरू देखिन्छन्। परिवारका सदस्यले पहिचान गरेका शवहरूको समेत व्यवस्थापन गर्न कठिन भइरहेको छ,” उनले उल्लेख गरेका छन्।
अर्यालका अनुसार बाढीपछि विद्युत् सेवा अवरुद्ध हुँदा मोबाइल नेटवर्कसमेत प्रभावित भएको छ। सहकारी कार्यालयको ब्याकअप विद्युत्बाट मोबाइल चार्ज गरेर इन्टरनेट चलाउन सफल भएपछि मात्र उनले बाहिरी संसारसँग सम्पर्क गर्न पाएका थिए।
त्यही क्रममा सामाजिक सञ्जालमा प्रधानमन्त्रीको पोस्ट देखेको उल्लेख गर्दै उनले कटाक्षपूर्ण शैलीमा भनेका छन्, “हाम्रो क्षेत्रबाट हेर्दा संघीय सरकार आकाशमा देखिन्छ, सामाजिक सञ्जालमा देखिन्छ।”






प्रतिक्रिया दिनुहोस्