काठमाडौं । रसुवाको भोटेकोशी नदीमा लेदोसहित पानीको बहाव पुनः बढ्न थालेपछि बाढीको जोखिम बढेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी र त्रिशूली नदी आसपासका बासिन्दा तथा उद्धार र राहतमा खटिएका सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणका अनुसार गत १० भदौमा ठूलो बाढी आएको भोटेकोशी क्षेत्रमा शुक्रबार पुनः लेदोसहितको बहाव बढेको सूचना प्राप्त भएको हो। नदीमा पानीको बहाव बढेसँगै थप बाढी आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सावधानी अपनाउन आग्रह गरिएको प्राधिकरणले जनाएको छ।
विशेषगरी भोटेकोशी र त्रिशूली नदी किनारमा उद्धार, खोज तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी तथा अन्य व्यक्तिहरूलाई जोखिमको अवस्था देखिए तत्काल सुरक्षित स्थानतर्फ जान भनिएको छ।
प्राधिकरणका प्रवक्ता तथा उपसचिव शान्ति महतले शुक्रबार जारी गरेको सूचनामार्फत नदीको बहावमा आएको परिवर्तनलाई गम्भीर रूपमा लिन आग्रह गरेकी छन्।
प्राधिकरणले जोखिमयुक्त नदी किनार तथा आसपासका क्षेत्रमा अनावश्यक रूपमा नबस्न र सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउनसमेत अनुरोध गरेको छ।






प्रतिक्रिया दिनुहोस्