काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण हालसम्म ७३४ जनाको शव फेला परेको छ। विपद् व्यवस्थापन प्राधिकरणको रिपोर्टअनुसार बाढीको तीव्र बहावसँगै शवहरू तल्लो तटीय जिल्लासम्म पुगेका छन्।
फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा २५९ जना रहेका छन्। त्यस्तै नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ जनाको शव फेला परेको छ।
बाढीपछि अझै २ हजार ४९८ जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ। सम्पर्कविहीन हुनेमा विभिन्न सुरक्षा निकायका ८५ जना सुरक्षाकर्मी समेत छन्। जसमा नेपाली सेनाका ४५, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरीका १३ जना रहेका छन्।
त्यस्तै, विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना कामदार समेत सम्पर्कविहीन भएका छन्। बेपत्ता हुनेमा ५८९ जना विदेशी नागरिक र उनीहरूसँगै रहेका १२७ जना नेपाली पर्यटन सहयोगी पनि छन्।
स्थानीय प्रशासनका अनुसार रसुवाबाट ५६२ जना र नुवाकोटबाट ११५ जना बेपत्ता भएका छन्।
विपद्पछि खोज, उद्धार तथा राहतका लागि देशभर १९ हजार ८९५ सुरक्षाकर्मी परिचालन गरिएको छ। हालसम्म ८ हजार १८६ जनाको जीवितै उद्धार गरिएको प्राधिकरणको विवरणमा उल्लेख छ।
बाढीबाट भएको मानवीय क्षतिको यकिन विवरण संकलन तथा बेपत्ताको खोजी कार्य अझै जारी रहेको छ।






प्रतिक्रिया दिनुहोस्