Skip to content

लामिछाने र मुख्यमन्त्री थापाबीच भेटः विपद् व्यवस्थापनमा तीन तहका सरकारबीच समन्वय गर्न आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाबीच पार्टी कार्यालय बनस्थलीमा भेटवार्ता भएको छ । भेटवार्तामा पछिल्लो विपद्, राहत तथा उद्धारका साथै तीन तहका सरकारबीचको समन्वयका विषयमा छलफल भएको थियो ।

मुख्यमन्त्री थापाले तीन तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसक्दा प्रदेश सरकारले आफ्नै ढंगबाट काम गर्नुपरेको बताए । प्रधानमन्त्री प्रभावित क्षेत्रमा पुग्दा समेत प्रदेश सरकारलाई जानकारी नदिइएको भन्दै उनले दुःख व्यक्त गरे ।

विपद् प्रभावित क्षेत्रमा राहत सामग्री पठाउन कठिनाइ भइरहेको जानकारी दिँदै मुख्यमन्त्री थापाले पठाइएको राहत बट्टार क्षेत्रमा जम्मा भएको र त्यसभन्दा माथिल्लो क्षेत्रमा पुर्‍याउन असहज भएको बताए ।

उनले संघ, प्रदेश र स्थानीय तहले कसले के काम गर्ने भन्ने स्पष्ट रूपमा छुट्याएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । जलवायु परिवर्तनको असर दीर्घकालीन हुने भएकाले खोला किनारमा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तीनै तहका सरकारले तत्काल समन्वयकारी ढंगबाट काम गर्नुपर्ने उनको भनाइ थियो ।

भेटमा रास्वपा सभापति लामिछानेले विपद्को समयमा स्थानीय र संघीय सरकारलाई जोड्ने भूमिका प्रदेश सरकारले प्रभावकारी रूपमा खेल्नुपर्ने बताए । उनले अहिलेको अवस्थामा सबै सरकारले आपसी समन्वयमा काम गर्नुपर्ने विषयमा आफूहरू सचेत रहेको उल्लेख गरे ।

लामिछानेले संघीय सरकारका तर्फबाट आवश्यक सम्पूर्ण सहयोगका लागि समन्वय गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T