Skip to content

चिनियाँ वायुसेनाका दुई विमान ५० टन राहत सामग्रीसहित काठमाडौंमा

काठमाडौं । चीन सरकारले नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ। राहत सामग्री बोकेका चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई–२० ठूला ट्रान्सपोर्ट विमान आइतबार बिहान करिब ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार विमानमार्फत राहत सामग्रीसँगै चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ पनि नेपाल आएका छन्। उनीहरू आवश्यक उद्धार उपकरणसहित नेपाल आइपुगेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा चिनियाँ राहत सामग्री नेपाललाई हस्तान्तरण गरिएको थियो। कार्यक्रममा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ तथा प्रतिनिधिसभा सदस्य धर्म केसीको उपस्थिति थियो। सो अवसरमा उनीहरूले नेपाल आएका चिनियाँ उद्धार विशेषज्ञलाई स्वागतसमेत गरेका थिए।

चीनको छङ्दुस्थित सुवाङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका दुवै विमान करिब तीन घण्टाको उडानपछि काठमाडौं आइपुगेका हुन्। ती विमानमा कुल ५० टन तौल बराबरका १३ हजार २०० थान आपत्कालीन राहत सामग्री ल्याइएको दूतावासले जनाएको छ।

राहत सामग्रीमा विपद् प्रभावितका लागि आवश्यक त्रिपाल, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, ड्राइफुड, बिस्कुट तथा प्राथमिक उपचार किट रहेका छन्।

नेपाल–चीन सीमा क्षेत्रसहित देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार तथा प्रतिकार्यमा सहयोग पुर्‍याउने उद्देश्यले चीनले राहत सामग्री र विशेषज्ञ टोली नेपाल पठाएको हो।

चिनियाँ विशेषज्ञ टोलीले आवश्यकताअनुसार उद्धार कार्यमा प्राविधिक सहयोग गर्ने जनाइएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T