काठमाडौं । नेकपा (एमाले) ले बाढी, पहिरो तथा डुबानबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा विपद् प्रभावितका लागि पार्टीका तर्फबाट उक्त रकम सहयोग गर्ने घोषणा गरेका हुन् ।
कार्यक्रममा एमाले वागमती प्रदेश कमिटी र राजधानी विशेष प्रदेश कमिटीले विपद् व्यवस्थापनका लागि १०–१० लाख रुपैयाँका दरले कुल २० लाख रुपैयाँको चेक अध्यक्ष ओलीलाई हस्तान्तरण गरेका थिए ।
उक्त सहयोग ग्रहण गर्दै अध्यक्ष ओलीले विपद् प्रभावितको उद्धार तथा राहतका लागि पार्टीले केन्द्रीय तहबाटै कोष परिचालन गर्ने बताए । उनले पार्टीको पहलमा कम्तीमा १ करोड २० लाख रुपैयाँ संकलन गरी विपद् प्रभावित क्षेत्रमा आवश्यक सहयोग पुर्याउने जानकारी दिए ।
बाढी, पहिरो तथा डुबानका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग जुटाउन पार्टीका विभिन्न तह तथा कार्यकर्तालाई समेत सक्रिय बनाइने एमालेले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्