काठमाडौं । भदौ १० गते रसुवा जिल्लाको भोटेकोशीमा आएको बिनाशकारी बाढीले विकास बैंकका २ शाखामा क्षति पु्र्याएको छ ।
धेरै जनधनको क्षति पुर्याएको बाढीले बैंक तथा वित्तीय क्षेत्रमा पनि ठुलै असर पारेको छ । बैंकिङ क्षेत्रले भौतिक तथा मानविय क्षति व्यहोरेको छ ।
उक्त बाढीका कारण काठमाडौंबाट गोसाइँकुण्ड भ्रमणमा गएका मुक्तिनाथ विकास बैंकका २ जना कर्मचारीमध्ये एक जना मृत फेला परेका छन् भने एक जना अझै सम्पर्क बिहीन छन् । यस्तै लुम्बिनी विकास बैंकका एक जना कर्मचारी सम्पर्क बिहीन छन् ।
नेपाल डेभलपमेन्ट बैंकर्स एसोसिएसनकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) मञ्जिला डंगोलका अनुसार प्राकृतिक विपद्का कारण विभिन्न विकास बैंकका शाखा कार्यालयमा निकै क्षति पुगेको छ ।
उनका अनुसार ज्योति विकास बैंकको त्रिशूली शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । त्यस्तै, लुम्बिनी विकास बैंकको देवघाट र कालिका शाखामा समेत क्षति पुगेको छ ।
बाढीका कारण बैंकका शाखा कार्यालय, भौतिक संरचना तथा कर्मचारीसमेत प्रभावित भएका छन् । प्रभावित क्षेत्रमा बैंकिङ सेवा सञ्चालनमा समेत समस्या देखिएको छ ।
विपद्का कारण सम्पर्कविहीन कर्मचारीको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको डंगोलले बताइन् । क्षतिको थप विवरण संकलन भइरहेको र प्रभावित बैंक शाखाहरूको अवस्थाबारे क्रमशः जानकारी प्राप्त हुने उनले बताइन् ।






प्रतिक्रिया दिनुहोस्