काठमाडौं । नेपालस्थित छोचेन खोला क्षेत्रमा हिमनदी खस्ने जोखिम अझै कायम रहेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ। चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभी न्युजले मंगलबार चीनको जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै छोचेन खोला क्षेत्रमा थप हिमनदी खस्न सक्ने जोखिम रहेको जनाएको हो।
मन्त्रालयका अनुसार दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रअन्तर्गत ग्यिरोङ काउन्टीमा देखिएको डेब्रिस फ्लो विपद्सँग सम्बन्धित जोखिमबारे निरन्तर परामर्श तथा मूल्यांकन भइरहेको छ। विपद्सँग जोडिएका सम्भावित जोखिमको सम्पूर्ण अवस्थाबारे नियमित रूपमा अध्ययन भइरहेको जनाइएको छ।
हालै गरिएको रिमोट सेन्सिङ तस्बिरको तुलनात्मक विश्लेषणअनुसार ग्यिरोङ त्साङ्पो नदी बेसिनमा यसअघि पहिचान गरिएका १४ वटा हिमतालको पानीको सतहमा उल्लेखनीय परिवर्तन देखिएको छैन। ती हिमतालहरू समग्रमा स्थिर अवस्थामा रहेको मन्त्रालयको भनाइ छ।
मंगलबार बिहान ८ बजे ड्रोनबाट खिचिएको तस्बिरअनुसार नेपालतर्फ छोचेन खोला नदीमा बनेको प्रभाव क्षेत्र (इम्प्याक्ट क्रेटर) मा जम्मा भएको पानीको ठूलो हिस्सा बाहिरिइसकेको छ। उक्त क्षेत्रभन्दा तलतर्फको नदीको बहावसमेत सामान्य अवस्थामा रहेको सिसिटिभीले जनाएको छ।
यद्यपि, प्रभाव क्षेत्र वरपर रहेका हिमनदीहरू खस्ने जोखिम भने अझै कायम रहेको चीनको जलस्रोत मन्त्रालयको दाबी छ। मन्त्रालयले जोखिमको निरन्तर अनुगमन र मूल्यांकन भइरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्