Skip to content

बाढीपहिरो पीडितको लागि राष्ट्रिय सहकारी बैंकले गर्यो राहत प्याकेजको घोषणा

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिक र सहकारी संघ–संस्थाको राहत तथा पुनः स्थापनाका लागि ३१ लाख ६० हजार रुपैयाँभन्दा बढीको आर्थिक सहयोग प्याकेज घोषणा गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् प्रभावितलाई सहयोग गर्ने उद्देश्यले उक्त राहत प्याकेज घोषणा गरेको हो ।
बैंकको सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका सदस्यहरूले आफ्नो एक दिनको बैठक भत्ता राहतस्वरूप प्रदान गर्ने निर्णय गरेका छन् । सोही निर्णयअनुसार ५ लाख ५५ हजार ५५५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने बैंकका कार्यकारी अधिकृत (सीईओ) बद्री गुरागाईँले बताए ।
बाढीपहिरोका कारण विभिन्न सहकारी संस्थाका भौतिक संरचना तथा अभिलेखमा समेत क्षति पुगेको भन्दै बैंकले प्रभावित सहकारी संघ–संस्थाको पुनः स्थापना, अभिलेख संरक्षण तथा प्रविधि व्यवस्थापनका लागि २० लाख रुपैयाँ छुट्याएको छ । उक्त रकम सम्बन्धित जिल्ला सहकारी संघसँगको समन्वयमा वितरण गरिने बैंकको भनाइ छ ।
त्यस्तै, विपद्का समयमा बैंकका कर्मचारीले समेत राहतका लागि ६ लाख ४ हजार ५३२ रुपैयाँ संकलन गरेका छन् । संकलित रकममध्ये नुवाकोट शाखामा कार्यरत व्यक्तिगत घर–सम्पत्तिमा क्षति पुगेका तीन कर्मचारी तथा बेपत्ता रहेका आफन्तका परिवारलाई तत्काल राहतस्वरूप प्रतिव्यक्ति ५० हजार रुपैयाँका दरले सहयोग गरिएको बैंकले जनाएको छ ।
बैंकले विपद्बाट प्रभावित सहकारी क्षेत्रलाई पुनः सामान्य अवस्थामा फर्काउन तथा प्रभावित परिवारलाई राहत उपलब्ध गराउन आफ्नो तर्फबाट सहयोग जारी राख्ने जनाएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T