काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाढीपीडितको राहत, पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा गेग्रानसहित आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो। उक्त प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको राहत तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत उक्त रकम प्रदान गरेको हो।
कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह र प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले एक विशेष कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई १ करोड ५१ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन्।
कम्पनीले अप्रत्याशित प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा जुट्न आफ्ना कर्मचारी र अभिकर्ताहरूलाई आग्रह गरेको छ।
नेशनल लाइफले बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।






प्रतिक्रिया दिनुहोस्