Skip to content

रसुवा बाढी: पौने २६ अर्बभन्दा धेरैको बिमा दाबी पर्ने अनुमान, ओरिएन्टलमा मात्रै १३ अर्बभन्दा बढी

काठमाडौं । भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीका कारण भएको क्षतिबापत  पाैने २६ अर्ब रुपैयाँ बराबरको बिमा दाबी पर्ने देखिएको छ । नेपाल बिमा प्राधिकरणमा भदौ १५ गतेसम्म प्राप्त प्रारम्भिक विवरणअनुसार बाढीबाट प्रभावित ५८३ वटा बिमितको कुल अनुमानित दाबी रकम २५ अर्ब ८७ करोड ३५ लाख रुपैयाँभन्दा बढी रहेको छ ।

प्राधिकरणका अनुसार बाढीबाट भएको क्षतिमा सबैभन्दा ठूलो दाबी द ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा पर्ने देखिएको छ । ओरिएन्टलमा मात्रै १३ अर्ब ४ करोड २१ लाख रुपैयाँ बराबरको प्रारम्भिक दाबी पर्ने अनुमान गरिएको छ ।

त्यसपछि युनाइटेड अजोड इन्स्योरेन्समा ४ अर्ब ९७ करोड ४८ लाख रुपैयाँ र सानिमा जीआईसी इन्स्योरेन्समा २ अर्ब १० करोड २८ लाख रुपैयाँको दाबी पर्ने अनुमान छ । यसैगरी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा १ अर्ब ८८ करोड ७३ लाख रुपैयाँ र शिखर इन्स्योरेन्समा १ अर्ब ८७ करोड ५४ लाख रुपैयाँ बराबरको दाबी पर्ने प्रारम्भिक आँकलन गरिएको छ ।

अन्य कम्पनीतर्फ हिमालयन एभरेष्ट इन्स्योरेन्समा ६४ करोड ७८ लाख, नेको इन्स्योरेन्समा ५१ करोड ७० लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २४ करोड २३ लाख र नेपाल इन्स्योरेन्समा २३ करोड ८६ लाख रुपैयाँको दाबी पर्ने देखिएको छ ।

यसैगरी,  आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा १८ करोड ७३ लाख, एनएलजी इन्स्योरेन्समा ११ करोड ३१ लाख र प्रभु इन्स्योरेन्समा ३ करोड १२ लाख रुपैयाँ बराबरको दाबी पर्ने अनुमान गरिएको छ ।

राष्ट्रिय बिमा कम्पनीमा ७६ लाख, नेशनल इन्स्योरेन्समा ५३ लाख ३५ हजार र नेपाल माइक्रो इन्स्योरेन्समा ५ लाख रुपैयाँ बराबरको दाबी पर्ने प्रारम्भिक विवरणमा उल्लेख छ ।

इन्जिनियरिङ तथा ठेक्का जोखिम बिमामा सबैभन्दा ठूलो दाबी

बाढीबाट भएको क्षतिमा इन्जिनियरिङ तथा ठेक्का जोखिम बिमातर्फ सबैभन्दा ठूलो दाबी पर्ने देखिएको छ । यस शीर्षकमा मात्रै २० अर्ब ५० करोड ७७ लाख ९० हजार रुपैयाँ बराबरको दाबी पर्ने प्राधिकरणको प्रारम्भिक आँकलन छ ।

यस्तै, सम्पत्ति बिमातर्फ २ अर्ब ३४ करोड ६२ लाख २० हजार रुपैयाँ र मोटर बिमातर्फ १ अर्ब ५५ करोड ९ लाख ३९ हजार रुपैयाँ बराबरको दाबी पर्ने अनुमान गरिएको छ ।

परिवहन बिमातर्फ ८९ करोड ७७ लाख ३७ हजार रुपैयाँ तथा अन्य विभिन्न प्रकारका बिमामा ५२ करोड ९२ लाख ९२ हजार रुपैयाँ बराबरको दाबी पर्ने देखिएको छ । स्वास्थ्य बिमातर्फ भने ४ करोड १६ लाख रुपैयाँ बराबरको प्रारम्भिक दाबी पर्ने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणमा प्राप्त विवरण प्रारम्भिक भएकाले क्षतिको विस्तृत मूल्यांकन तथा दाबी फर्छ्यौटको प्रक्रिया अघि बढेसँगै वास्तविक दाबी रकममा परिवर्तन हुन सक्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T