काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्यको जिम्मेवारी प्रदेश सरकारले लिने बताएका छन् ।
रसुवामा बाढी-पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री थापा मगरले विपद्बाट प्रभावित परिवारलाई बागमती प्रदेश सरकारले सरकारको रूपमा मात्र नभई परिवारकै रूपमा साथ दिने प्रतिबद्धता जनाए ।
मुख्यमन्त्री थापा मगरले आमाबाबु गुमाएका बालबालिकाको भविष्य अन्धकार हुन नदिने बताउँदै उनीहरूको शिक्षा तथा भविष्य सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । उनले भने, ‘बाढी-पहिरोमा आमाबाबु गुमाएका बालबालिकाको भविष्य अन्धकार हुन दिँदैनौँ। उहाँहरूको शिक्षा, सपना र भविष्यको जिम्मेवारी बागमती प्रदेश सरकारले लिनेछ।’
मुख्यमन्त्री थापा मगरले विपद्को पीडामा रहेका रसुवावासीलाई दुःखको घडीमा प्रदेश सरकारको साथ रहने विश्वाससमेत दिलाए । उनले भने, ‘दुःखको घडीमा सरकार होइन, परिवार बनेर साथ दिनेछौँ।’
रसुवामा आएको बाढी-पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना लागि सरकारका तर्फबाट आवश्यक सहयोग र सहजीकरण गरिने उनले प्रतिबद्धता व्यक्त गरे ।






प्रतिक्रिया दिनुहोस्