काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये एक जनाको अवस्था सामान्य रहेको छ भने अर्का एक जनाको अवस्था जटिल रहेको छ।
जटिल अवस्थामा रहेका कबीर महर्जनलाई उद्धारलगत्तै काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा ल्याइएको थियो। उनलाई अस्पतालमा भर्ना गरी सघन उपचार जारी राखिएको छ।
यस्तै, सुरुमा उद्धार गरिएका सञ्जय साहको अवस्था भने सामान्य रहेको बताइएको छ। उनको स्वास्थ्य अवस्था स्थिर रहे पनि थप स्वास्थ्य परीक्षणका लागि वीरेन्द्र सैनिक अस्पताल, छाउनी ल्याउने तयारी गरिएको छ।

नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य विज्ञ सम्मिलित संयुक्त टोलीले शुक्रबार बिहान आयोजनाको सुरुङभित्र उद्धार अभियान सञ्चालन गरेको थियो।
बाढीपछि आयोजनाभित्र मानिसहरू फसेको आशंका गरिएपछि सुरक्षाकर्मी तथा उद्धार टोलीले बाढी आएको समयदेखि नै खोज तथा उद्धारको प्रयास जारी राखेका थिए। लगातारको प्रयासपछि सुरुङभित्र रहेका दुई जनालाई उद्धार गर्न सफलता मिलेको हो।

उद्धारपछि दुवै जनालाई आवश्यक स्वास्थ्य उपचार तथा परीक्षणका लागि अस्पतालतर्फ लगिएको हो।








प्रतिक्रिया दिनुहोस्