Skip to content

भोटेकोसी बाढी: कुशको शव बनाएर किरिया गरिसकेपछि पुरिएको घरभित्रबाट चण्डिका जीवितै उद्धार

नुवाकोट । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएकी ६४ वर्षीया चण्डिका श्रेष्ठलाई परिवारले मृत्यु भइसकेको ठानेर कुशको शव बनाई अन्तिम संस्कारसमेत गरिसकेको थियो। तर, बाढी आएको ११औँ दिनमा उनी नुवाकोटको बेत्रावतीमा पुरिएको घरभित्रबाट जीवितै उद्धार भएकी छन्।

बाढीले घर बगाएपछि चण्डिका सम्पर्कविहीन भएकी थिइन्। आठ दिनसम्म उनको कुनै अत्तोपत्तो नलागेपछि परिवारले उनी जीवित नरहेको निष्कर्ष निकाल्दै कुशको शव बनाएर अन्तिम संस्कार तथा काजकिरिया सुरु गरेको थियो।

परिवार शोकमा डुबेर मृत्यु संस्कार गरिरहेका बेला उद्धार टोलीले बेत्रावतीस्थित आनन्द श्रेष्ठको बाढीले पुरिएको घरभित्र खोजी गर्ने क्रममा चण्डिकालाई जीवित अवस्थामा फेला पारेको हो।

सशस्त्र प्रहरी बलका प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार उद्धारकर्ताले पुरिएको घरभित्रबाट चण्डिकाको जीवितै उद्धार गरेका हुन्।

मृत्यु भइसकेको ठानेर काजकिरियासमेत गरिसकेकी चण्डिका जीवितै फेला परेपछि परिवार र स्थानीयवासीमा आश्चर्यसँगै खुसी छाएको छ। केही दिनअघिसम्म शोकमा रहेको परिवारमा उनको जीवित उद्धारले अप्रत्याशित खुसी ल्याएको छ।

उद्धारपछि चण्डिकाको स्वास्थ्य परीक्षण तथा उपचारका लागि अस्पताल पठाइएको छ। घटनास्थलमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा खोज तथा उद्धार कार्य जारी रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T