काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं जेनजी आन्दोलनमा शहीद भएका रसिक खतिवडाकी आमा रचना खतिवडा खत्रीले जेनजी शहीदले न्याय कहिले पाउने भन्दै सरकारसँग प्रश्न गरेकी छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै सांसद खतिवडाले जेनजी आन्दोलन भएको एक वर्ष पुग्दा पनि शहीद परिवारले न्यायको अनुभूति गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।
उनले मंगलबार जेनजी शहीदहरूको सम्झनामा आयोजित स्मृति सभामा प्रधानमन्त्री शाहलाई निमन्त्रणा गरिएको भए पनि उपस्थित नभएको भन्दै असन्तुष्टि व्यक्त गरिन् । कार्यक्रममा सहभागी भएर केही बोलिदिन आग्रह गर्दा पनि प्रधानमन्त्री उपस्थित नभएको र साँझ मात्रै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिएको उनको भनाइ थियो ।
‘जेनजी आन्दोलन भएको एक वर्ष भयो । जेनजी शहीदले देशले शहीद पायो, एक दिन बिदा पायो,’ उनले भनिन्, ‘निमन्त्रणा दिएर कि त आइदिनुस्, केही त बोलिदिनुस्, जेनजी शहीदको नाममा केही त लेखिदिनुस् भनेर बिहान ७ बजेदेखि भन्दा भन्दै बेलुकी ७ बजे स्टाटस आयो । अन्तमा एक वर्षपछि शहीदलाई श्रद्धाञ्जली ।’
उनले यही प्रसंगमा सरकारसमक्ष दुईवटा प्रश्न राखिन् । ‘शहीदले न्याय कति वर्षमा पाउँछ सरकार ? शहीद र घाइते परिवारलाई भेट्न कति वर्ष लाग्छ अब ?’ उनले प्रश्न गरिन् ।
सांसद खतिवडाले गत वर्ष भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा आफ्ना २३ वर्षीय छोरा रसिक खतिवडालाई गुमाएकी थिइन् ।
खतिवडा रास्वपाको समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्यमा मनोनीत भएकी हुन् । उनले जेनजी आन्दोलनका शहीद तथा घाइते परिवारको न्याय, सम्मान र राज्यको जिम्मेवारीप्रति सरकार गम्भीर बन्नुपर्ने बताउँदै आएकी छन् ।






प्रतिक्रिया दिनुहोस्